बुटवल। नेकपा (माओवादी केन्द्र)का रुपन्देही इन्चार्ज हकिकुल्लाह खान मुसलमानले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार प्रेस विज्ञप्तिमा जारी गरेर पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
मंसिर ४ गतेको निर्वाचनमा रुपन्देहीमा एक जना प्रत्यक्षतर्फ उमेदवार पनि विजय गराउन नसकिएको र समानुपातिकमा संख्या घटेको तथा प्रतिनिधिसभामा मुस्लिम कलस्टरसमेत ‘कोल्याप्स’ भएकाले आफूले राजीनामा दिएको उनको भनाइ छ। उनले माओवादी केन्द्र रुपन्देहीको इन्चार्ज र मुस्लिम मुक्ति मोर्चा केन्द्रीय इन्चार्ज पदमा रहिरहन नैतिकताले नदिएकाले राजीनामा दिएको उल्लेख गरेका छन्।
‘रुपन्देहीमा एक जना पनि प्रत्यक्ष तर्फका उम्मेदवार विजयी गराउन सकिएन, समानुपातिकमा पनि २०७४ सालको निर्वाचनमा भन्दा निकै कम मत आएको र मुस्लिम कलस्टर नै कोल्याप्स भएकाले नैतिक रुपमा पार्टीको नेतृत्वमा रहिरहन मिलेन त्यसैले राजीनामा दिएको छु,’ उनले भनेका छन्।