गगन थापा शेखर समूहबाट संसदीय दलको साझा उम्मेदवार

Gagan_Thapa
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्। दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको थियो।

मंगलबार बिहान बसेको कांग्रेस संस्थापन इतर समूहको बैठकले थापालाई दलको नेता उठाउने निर्णय गरेको हो। थापाको प्रस्तावक डा.शेखर कोइराला हुनेछन्।

लाजिम्पाटस्थित होटल एम्बेस्डरमा बसेको बैठकमा कोइराला र थापामध्ये एकजना उठ्ने सहमति जुटेको थियो। त्यसपछि को चुनावमा उठ्ने भन्ने विषयमा सिंहदरबारस्थित होटल बसेरामा कोइराला र थापा वार्तामा बसेका थिए । सो वार्तामा कोइरालाले आफू प्रस्ताव बन्न तयार रहेको बताएका थिए।

यो सहमतिपछि अब दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध थापाले उम्मेदवारी दिने निश्चित भएको छ। थापाले आगामी महाधिवेशनमा कोइरालालाई सभापतिमा सघाउने भित्री सहमति जुटेको स्रोतले जनाएको छ।

यसअघि शेखरले पनि संसदीय दलको नेतामा आफू उम्मेदवार हुनुपर्ने दाबी गर्दै आएका थिए। तर, इतर पक्षको छलफलका क्रममा शेखर पछि हट्न तयार भएका हुन्। यस्तै संस्थापन पक्षबाट भने देउवा उम्मेदवार हुने भएका छन्। आजै संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन अनुसार मनोनयन दर्ता हुँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्