सरू पोखरेल
धेरै वर्षदेखिको चुनावबाट नै पटक–पटक नयाँ पार्टी जन्मिएका थिए, छन् र भविष्यमा पनि जन्मिएलान्। नयाँ पार्टीहरू जनताप्रति उत्तरदायी हुने वा नहुने भन्ने कुराले नै उनीहरूको बाँकी भविष्य स्थापित वा बिस्तापित हुनेछ। यो कुरा वर्तमानका पार्टीहरूको हकमा पनि लागू हुन्छ।
व्यवस्था परिवर्तनका लागि माओवादी, काङ्ग्रेस, एमालेले राम्रै भूमिका खेलेका हुन्। त्यसका लागि उनीहरूलाई धन्यवाद दिनैपर्छ।
पहिला पनि नयाँ पार्टी नजन्मिएका होइनन्। एउटा ताजा उदाहरण अझै छ कि हामी युवाका लागि नयाँ कोर्सका रूपमा विवेकशील निर्माण गर्ने नायक हुन् उज्ज्वल थापा। उनले गरेको लगन र मिहिनेतले युवाको साथ पनि राम्रै पाएको थियो। पत्रकारिताबाट बिदा लिएर जन्मिएका अर्का पात्र थिए साझा पार्टीका रवीन्द्र मिश्र। उनले २०७४ मा जनताको राम्रै साथ पाएका थिए। यी दुई पार्टी एक भएपछि इगो, धार परिवर्तन, अहमता र जुँगाको लडाइँले ओरालो लागेको बैकल्पिक शक्ति विवेकशील साझा पार्टी आज भूगोलमा होइन गुगलमा खोज्नुपर्ने स्थितिमा छ। कुनै बेला शहरमा राम्रो पकड बनाएको शक्ति अस्तित्व रक्षाको संघर्ष गरिरहेको परिदृश्य सामान्य पक्कै होइन।
पार्टीको आन्तरिक एकता जति बलियो हुन्छ, राजनीतिक शक्तिको भविष्य त्यति नै दीगो हुन्छ। त्यसको पछिल्लो उदाहरण हो विवेकशील साझा, जहाँ पार्टीको आन्तरिक एकता कमजोर हुँदा जनताको भरोसा टुटेको छ।
पुराना दल अनि ६५ वर्ष कटेका नेता र जितेपछि पनि जनताको मर्म नबुझेर आजित भएका जनताले अवस्था परिवर्तन नहुँदा यसपटकको निर्वाचनमा राजनीतिक वितृष्णा व्यक्त गरेका छन्। त्यसको फलस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी राष्ट्रिय दलको रूपमा उदाएका छन्।
अब प्रश्न उठ्छ, यिनीहरू कसरी अगाडि बढ्लान् ? यिनीहरू पनि पार्टीको किचलो, धार परिवर्तन, इगो जस्ता चिजमा सकिने कि जनताको परिवर्तनको आवाज सुन्ने ? यसमा आम मतदाता अभिरूचिपूर्वक हेरेको देखिन्छ। किनकि, नयाँ दलहरू परीक्षण हुन् बाँकी छन्, तसर्थ अहिले नै अन्तिम निष्कर्ष निकाल्न सकिँदैन।
यस सन्दर्भमा राप्रपाको प्रसंग पनि जोडिएर आउँछ। तर, राप्रपा कुनै नयाँ दल होइन, यसले अगाडि सारेका एजेण्डाले बैकल्पिक शक्तिको प्रतिनिधित्व पनि गर्दैनन्। यो त्यही पूरानो पार्टी हो, जहाँ ६० वर्ष नेताहरूको बर्चश्व छ। राप्रपाभित्र पनि नेतृत्वमा नयाँ अनुहार आएको छ। यसले जनतामा केही आशाको रक्तसञ्चार गरेको पनि छ। जुम्लाबाट एक अनुहार भ्रष्टाचारविरूद्धको नारा लिएर आएका छन्, उनको पनि परीक्षा सुरू भएको छ।
साथै ती नयाँ पार्टीहरूको परीक्षाको घडी सुरु भएको छ। स्थानीय चुनाव एक अधिकार प्राप्त चुनाव हो र अहिले प्रतिनिधिसभाको चुनाव एक मजबुत नीति निर्माण बनाउन भएको चुनाव हो भन्ने कुरा पनि जनताले नबुझेका होइनन्। अहिले आएका नयाँ पार्टीले आफूले जितेको स्थानमा रहेका स्थानीय जनताको मात्र होइन कि देशकै जनताको आवाज बोल्नुपर्छ भन्ने हो। अब के गर्छन्, परीक्षाको घण्टी बज्न सुरू भएको छ।
साथै नयाँ उदाएका पार्टी र जनप्रतिनिधिले राष्ट्रिय समस्या कृषि, स्वास्थ्य, शिक्षा, बाटोघाटो, सिंचाइ शेयर बजारका समस्याका साथै मित्रराष्ट्रलाई सन्तुलनमा राखेर खेलिने मुद्दामा उनीहरुको के–कस्तो भूमिका रहन्छ, त्यो हेर्न नै बाँकी छ। आशा गरौँ राम्रो नीतिनिर्माता बन्न सके भने आफूलाई स्थापित गर्न सक्छन्। पदको लोभ, राष्ट्र र जनताप्रति उदासिन र पार्टीको आन्तरिक किचलो भए आफै सकिन पनि बेर लाग्दैन।
नयाँ पार्टी जन्मिनु नै पूराना पार्टीहरूका लागि सच्चिने एउटा राम्रो मौका हो, किनकि राष्ट्रहित र जनताको आवाज सुनेर काम गर्न र त्यसको खबरदारी गर्न केही युवा पठाएका छौँ भनेर जनताले चुनेर पठाएका छन् नयाँ पार्टीका प्रतिनिधिलाई। अब पूराना होस् वा नयाँ, उनीहरूको कामको आधारमा जनतालाई कसले कति रिझाउन सक्छन्। त्यहाँ एउटा प्रश्न खडा भएको छ र त्यही प्रश्नको आधारमा को–कति सच्चिने वा सक्किने, आगामी दिनमा देखिने नै छ।
अवस्था परिवर्तन र राष्ट्रनिर्माणमा सबैको हातेमालोको आवश्यकता महसुस होस्। ‘‘सबै मिली खाने होइन कि जनताको आवाज सुनेर अगाडि बढ्नुहुनेछ भन्ने कामना गरौँ।’’ एक विश्वास र आशाको किरणको युग सुरू भएको सबैमा अनुभूति हुन सकोस्, हार्दिक शुभकामना।
सिरान्चोक गोर्खा