भक्तपुरमा बढ्दै मानव अधिकार हननका घटना, यस्तो छ अवस्था

लोकपाटी न्यूज
8 Shares

भक्तपुर। भक्तपुरमा एक वर्षको अवधिमा हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौन शोषण तथा दुर्व्यवहार, बहुविवाहलगायतका १७९ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आज आयोजना गरेको एक वर्षे घटना सार्वजनिक एवं नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्।

इन्सेकले संकलन गरेको तथ्यांक अनुसार सन् २०२२ जनवरीदेखि डिसेम्बर २१ सम्मको एक वर्षको अवधिमा बलात्कारको घटना बढेको पाइएको छ। यस अवधिमा महिला तथा बालिका गरी ५१ जना बलात्कारबाट पीडित भएका छन्। चार जना बलात्कार प्रयासबाट र तीन जना बालिका बाल यौन दुर्व्यवहारबाट पीडित भएका छन्।

यस अवधिमा आठ जनाको हत्या भएको छ भने १५ जनाको हत्या प्रयास भएको छ। ७० जनामाथि अभद्र व्यवहार, एक जनामा जातीय छुवाछुतबाट पीडित भएका छन्। त्यस्तै, बहुविवाहबाट १५ जना महिला पीडित भएका छन् भने मानव बेचबिखनबाट पाँच जना, घरेलु हिंसाबाट चार जना, आत्महत्या दुरुत्साहनमा चार जना पीडित भएका छन्। भक्तपुरमा यो वर्ष १५३ जनाले आत्महत्या गरेका छन्।

आत्महत्याको अवस्था विकराल बन्दै गएको छ । १६८ जनाको यो वर्ष सम्बन्ध विच्छेद भएको छ। त्यस्तै महिला, पुरुष र बालबालिका गरी यो वर्ष ४४४ जना हराएकोमा ४२४ जना फेला परेका छन्। यस अवधिमा गत वर्ष हत्या ८ जनाको हत्या, ३२ जना बलात्कारबाट, घरेलु हिंसाबाट ४८ जना पीडित भएका थिए। भक्तपुरमा बलात्कार, हत्या र आत्महत्या डरलाग्दो रुपमा वृद्धि भएको इन्सेक भक्तपुर प्रतिनिधि गिरीले बताए।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ७५ प्रतिशत हिंसा घर भित्र, आफन्त र चिनेजानेकाबाटै हुने गरेको बताउँदै १८ वर्ष मुनिको बालिकाहरू बढी पीडित हुने गरेको बताइन्। बहुविवाह र बालविवाह लगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउँदै उनले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्नेमा जोड दिइन्।

स्थानीय तहले महिला, बालबालिकालगायत धेरै क्षेत्राधिकार पाए पनि त्यसलाई समुचित रुपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय तहमा जानु पर्ने विषय जिल्ला प्रशासन कार्यालयमा आउने र त्यसको बहन गर्नु पर्ने बाध्यता रहेको उनले बताइन्। भक्तपुरका चार वटै स्थानीय तहसँग समन्वय र छलफल गरेर अपराध रोकथाम, हिंसा न्यूनीकरण, उद्धार र पुनर्स्थापना केन्द्र सञ्चालन गर्ने लगायतका कार्य अगाडि बढाउने बताइन्।

त्यसअवसरमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक प्रजित केसीले बालश्रमका घटना भने प्रहरीसम्म नआउने गरेको बताउँदै स्थानीय तहले त्यसमा निगरानी गर्नु पर्नेमा जोड दिए। कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपानेले संविधानले दिएको मानव अधिकार कार्यान्वयन गर्न र अपराध नियन्त्रणमा राज्य जिम्मेवार बन्नु पर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकीले अपराध बढ्दै जाने तर त्यसको कारण पहिचान गरी घटना नियन्त्रणका लागि पहल नगर्ने हो भने अपराधमुक्त समाज बनाउन नसकिने बताए। कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव सञ्जीव शुभचिन्तकले अपराध नियन्त्रण, मानव अधिकार रक्षाका लागि स्थानीय तह, गैरसरकारी संस्था, पत्रकार महासंघलगायतका सरोकारवाला निकायसँग समन्वय गर्दै समस्या समाधानका लागि अग्रसर हुनु पर्ने औँल्याए।

चाँगुनारायण नगरपालिकाका सूचना अधिकृत नीला घिमिरेले स्थानीय तहले बालमैत्री नगरपालिका घोषणा गरेको बताउँदै अब पालिकाहरूले आफ्नो वडा वडामा मनोसामाजिक परामर्श सञ्चालन गर्नु पर्ने आवश्यकता रहेकोमा जोड दिइन्। सूर्य विनायक नगरपालिकाको पूर्वउपप्रमुख एवं अधिकारकर्मी जुना बस्नेतले स्थानीय तहले न्यायिक समितिलाई समेत जिम्मेवार बनाउन नसकेको बताउँदै नगर प्रमुखदेखि कार्यपालिकाले समेत अधिकार हननका घटना न्यूनीकरणमा चासो नदिने गरेको सुनाइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्