स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण

school-maa-paddai pic
लोकपाटी न्यूज
7 Shares

नेपालगन्ज। बाँकेको जानकी गाउँपालिकामा स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरिएको छ। यहाँ रहेका ३९ सामुदायिक र छ निजी विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए।

उनले पाठ्यक्रम यही पुस २२ गते हुने गाउँपालिकाको सभाले पारित गरेपछि त्यसलाई कार्यान्वयन गरिने बताए। ‘स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, सम्पदाको जगेर्ना गर्ने उद्देश्य राखिएको छ,’ उनले भने। पालिकामा रहेका स्थानीय अगुवा अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानीय विज्ञका रुपमा जीतबहादुर शाह सहितको समूहले करिब दुई महिना छलफल गरेर पाठ्यक्रम निर्धारण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णा भण्डारीले जानकारी दिए।

पाठ्यक्रमको एक एकाइमा जानकीको परिचय, दुईमा हाम्रो संस्कृति र सम्पदा, तीनमा हाम्रो पेसा-व्यवसाय र प्रविधि, चारमा खुसीका लागि शिक्षा तथा जीवनोपयोगी सीप, पाँचमा हाम्रो पर्यावरण र हरित विद्यालय एवं छमा सामाजिक चुनौती र विपद् व्यवस्थापनको विषयको सूची रहेको छ। उनका अनुसार कक्षा १ देखि ८ सम्म आधारभूत तहमा लागू गरिने सो पाठ्यक्रमको नाम ‘हामी र हाम्रो जानकी’ रहेको छ।

सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला

जानकी गाउँपालिकामा विद्यार्थीको सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला गरिएको छ। गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको सो कार्यक्रममा सामुदायिक विद्यालयका आधारभूत तहका विद्यार्थीको पढाइ सीप परीक्षण गरिएको थियो।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गुणस्तरीय शिक्षाको विकासका लागि पढाइ मेला फलदायी हुने विश्वास व्यक्त गर्दै बालबालिकाको पढाइ कस्तो छ भनेर जानकारी लिन खोजिएको बताए। उनले गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले सबै विद्यालयमा अनुगमन गरेर शिक्षामा भएका त्रुटिलाई सच्याइने जनाए।

शिक्षक रामधिरज यादवले विद्यालयमा बालबालिका नियमित नभएका कारण र अभिभावकले आफ्ना बच्चालाई विद्यालयमा नियमित पठनपाठन गर्नुपर्छ भन्ने चेतनाको विकास नभएकाले विद्यार्थी कमजोर भएको बताए। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्