पार्टी रूपान्तरणको यात्रा प्रारम्भ भइसक्यो : गगन थापा

Gagan_Thapa
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बुधबार भएको संसदीय दलको चुनावलाई स्वाभाविक रुपमा लिन आग्रह गरेका छन्। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र उनी निकटहरूमाथि सामाजिक सञ्जालबाट आलोचना भएपछि महामन्त्री थापाले त्यसरी टीकाटिप्पणी नगर्न अनुरोध गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक प्रतिस्पर्धा थियो। यसले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास र रूपान्तरणको यात्रालाई थप बल पुर्‍याएको छ। त्यसैले, परिणामलाई लिएर कुनै टीकाटिप्पणी नगर्न र संयमताका साथ धारणा राख्न म पार्टीका साथीहरू र शुभेच्छुकहरूमा विनम्रतापूर्वक अनुरोध गर्दछु।’

देउवासँग पराजित भएका थापाले चुनावी परिणामलाई स्वाभाविक रुपमा लिँदै पार्टी निर्माणमा जुट्न आह्वान गरेका छन्। सामाजिक सञ्जालमा देउवा र उनलाई मतदान गर्ने काँग्रेस सांसदहरूमाथि तीव्र आलोचना गरिएको थियो। संसदीय दलको नेता देउवाले ६४ मत पाउँदा थापाले २५ मत पाएका थिए।

थापाले आफ्नो निर्वाचन अन्त्य नभई सुरुवात भएको हुँदा आगामी दिनमा नथाकीकन प्रतिवद्ध भएर लागिरहने बताएका छन्। ‘यो अन्त्य होइन प्रारम्भ हो,’ उनले भनेका छन्, ‘पार्टी रूपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ। यो निर्वाचनले त्यो यात्रामा थप गति दिएको छ, बल पुर्‍याएको छ। सबै सांसदज्यूहरू, पार्टीका अग्रज तथा साथीहरूसँग मिलेर पार्टी रूपान्तरण र मुलुकको समुन्नतिका लागि आगामी दिनमा म नथाकिकन अझ प्रतिवद्ध भएर लागिरहने प्रण गर्दछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्