विराटनगर। प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमत्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिक प्रगति समीक्षामा उनले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वाभाविक भएको उल्लेख गरे।
‘सरकार परिवर्तन नहोला भन्दिनँ तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य म देख्दै छु,’ मुख्यमन्त्री राईले भने। उनले कर्मचारी स्थायी सरकार भएको स्मरण गराउँदै आफूले सरकार सञ्चालनका क्रममा कर्मचारीलाई सहयोगीभन्दा सल्लाहकारको रुपमा लिएको बताए। ‘कर्मचारीका सवालमा हिजो हामीले कुनै रंग हेरेनौं, बिरालो कालो होस् वा सेतो मुसा मारे पुग्छ भनेझैँ हामीलाई काम चाहिएको छ,’ उनले भने।
मुख्यमन्त्री राईले कर्मचारी जागिर खान मात्रका लागि नभई कामका लागि भएकाले सबै कर्मचारीले पाएको र दिइएको जिम्मेवारीअनुसार काम गर्नुपर्नेमा जोड दिए। सरकार फेरिने प्रक्रियालाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँदै उनले एउटा सरकारले गरेको कामको दायित्व र जिम्मेवारी अर्को सरकारका लागि बोझ नहोस् भन्नेतर्फ कर्मचारी नै सजग हुनुपर्ने धारणा व्यक्त गरे। उनले आफू सरकारको नेतृत्वमा आउनु पूर्व पूर्ववर्ती सरकारले बहु वर्षीय योजनासहितका टुक्रे योजनामा गरेको खर्चले निकै ठूलो तनाव सहनुपरेको उल्लेख गरे।
‘जोसुकैको सरकार होस् स्रोत सुनिश्चित छैन भने बजेटमा उल्लेख नगरौं भनेर कर्मचारीले भन्न सक्नुपर्छ, हैन भने अर्कालाई भार पर्छ,’ मुख्यमन्त्री राईले भने, ‘म कर्मचारी वर्गलाई भन्न चाहन्छु नहुने, नमिल्ने काम छ भने निर्धक्क भएर हुँदैन भन्नुपर्छ, अनि हुने काम छ भने स-साना छिद्र खोजेर अल्झाउनु पनि हुँदैन।’ उनले नागरिकलाई आपत्बिपद् पर्दा सरकार छिटो परिचालन भएको महशुस हुनेगरी काम गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आयोजित चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा प्रदेश सरकारअन्तर्गतका विभिन्न १७ वटा मन्त्रालय तथा निकायको प्रगति विवरण प्रस्तुत गरिएको थियो। विभिन्न मन्त्रालय तथा निकायबाट प्रगति विवरण प्रस्तुत भएपछि प्रदेश-१ का निमित्त प्रमुख सचिव किशोरकुमार चौधरीले प्रदेश सरकारको समग्र अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा प्रकाश पारेका थिए।