सुदूरपश्चिममा भुवा पर्व शुरु

gaura parb
लोकपाटी न्यूज
4 Shares

राजेन्द्र बिक/ बाजुुरा, पुष। बाजुरालगायत सुदुरपश्चिमका केही जिल्लामा भुवा पर्व शुरु भएको छ। दशैं तिहार पछिको दोश्रो ठूलो पर्वका रुपमा मनाईने भुवा पर्व आजदेखि शुरु भएको हो। ऐतिहासिक किम्मदन्ती बोकेको भुवा पर्वको साँस्कृतिक महत्त्व पनि रहेको छ। महाभारतको युद्धमा पाण्डव र कौरव बिचको गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन्। पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ। भुवा पर्व पुषेऔंसीका दिनबाट सुरु भइ तीन देखि पाँचदिन सम्म मनाइने गरिन्छ।

आफन्तसँगको भेटघाट, आपसी सद्भाव,रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधीभर रमाईलो गर्ने गरिन्छ। सुदूरपश्चिमका अछाम, बझाङ लगायत बाजुरा जिल्लाको बुढिगंगा बडिमालिका,बुढिनन्दा,त्रिवेणि नगरपालिका,खप्तड छेडेदह र गौमुल गाउँपालिकाका गाउँहरुमा स्थानीयले यो पर्व बिशेश रुपमा मनाउने गर्दछन्।

भुवा पर्वमा हरिनु हाल्ने र त्यसको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने,लाखे नाच नांच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ। सदरमुकाम मार्तडिमा बिहानै सबै टोल-टोल बाट आगाका रांकाहरु बालेर स्थानीय एकै ठाउँमा जम्मा भइ भुवा चाली खेल्ने प्रचलन अनुसार बिहान बाटै चाली खेल्न शुरु गरिएको छ भने जिल्लाका अरु क्षेत्रमा पनि रांके नांच र भस्व खेलिएको छ। सत्यको जित संग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातिहरुले भुवा पर्ब मनाउने गरिएको भुवा पर्वका जानकाररुले बताउने गरेका छन्। भुवा पर्वको सन्दर्भमा आज बाजुरामा सार्वजनिक बिदा दिइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्