काठमाडौं। ‘बिकिनी किलर’ भनेर चिनिएका चाल्र्स शोभराज थुनामुक्त भएका छन्। बिहीबार केन्द्रीय कारागार सुन्धाराबाट उनलाई रिहा गरेर अध्यागमनमा लगिएको छ।
सर्वोच्च अदालतको आदेश अनुसार उनलाई डिपोर्ट गरिने सरकारको तयारी छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
सर्वोच्चले ७८ वर्षीय वृद्ध तथा मुटुको रोगी समेत रहेका शोभराजले तोकिएको २० वर्षे कैद सजायको ९५ प्रतिशत भोगिसकेको भन्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको थियो। शोभराजलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । त्यसपछि विभागले उनलाई फ्रान्स पठाउने प्रक्रिया अघि बढाउनेछ ।
कारागार नियमावली, २०२० को नियम २९ ९२ क० ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने रोग लागेको अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ । उनले आफू छुट्नुपर्ने दाबी गर्दै यसअघि पटकपटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए । तर उनी छुट्न सकेका थिएनन् । शोभराजमाथि विश्वका विभिन्न स्थानमा २० भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग लागेको छ।
शोभराजले हत्या गरेका अधिकांश महिला भएकाले उनलाई विकिनी किलर भन्ने गरिन्छ । नेपालमा पनि उनले एक अमेरिकी र एक क्यानेडेली महिलाको हत्या गरेका थिए। सोही आरोपमा २०६० सालमा शोभराजलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो ।