चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको रामनगर क्षेत्र र ठिमुरामा निर्माणाधिन अवस्थामा रहेको खानेपानी आयोजनाको शुक्रबार अनुगमन एवं निरीक्षण गरेकी छन्। भरतपुर महानगरपालिका- १ मा अवस्थित ढयाङ्ग्रे खोलामा निर्माणाधिन खानेपानी आयोजना र ठिमुरामा भइरहेको डिप बोरिङ हाल्ने कामको निरीक्षण गरेकी हुन्।
मेयर दाहालले खानेपानी आयोजनाको प्रगतिबारे स्थलगत अवलोकन गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेकी छन्। करिब २ महिनाअघिदेखि रामनगरवासीलाई लक्षित गरी ढयाङ्ग्रे खोलामा निर्माण भएको १ लाख लिटर क्षमताको रिजर्भ ट्यांकीको काम सकिएको छ। अब पम्पमार्फत मुहानदेखि ओभर हेड ट्याङकीसम्म पाइप पुराउने काम बाँकी रहेको छ। ठेकेदारका अनुसार अबको एक महिनाभित्र यो कामले पूर्णता पाउने छ।
यस्तै वडा नम्बर १ मा रहेको ठिमुरावासीहरु पनि सुरक्षित र स्वच्छ खाने पानीको पहुँचमा पुगेका छन्। अहिले त्यहाँका करिब २ सय घरधुरीका लागि डिप बोरिङ हाल्ने काम भइरहेको छ। महानगरपालिकाले यसै स्थानमा अर्को दीर्घकालिन महत्त्वको खानेपानी परियोजना अघि बढाएको महानगरपालिका प्रमुख दाहालले जानकारी दिइन्। उनका अनुसार भरतपुरका २९ वटै वडामा बाहिरा प्रचार गरेको जस्तो खानेपानीको अभाव छैन।
संविधानले ग्यारेण्टी गरेको खानेपानी उपभोगको अधिकारलाई मध्यनजर राख्दै ठूला परियोजनाहरू निर्माणाधिन अवस्थामा रहेको प्रमुख दाहालको भनाई छ।