काठमाडौं। बङ्गलादेशमा जारी काभा तेइस वर्षमुनि (यु-२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ।
ढाकाको मिरपुरस्थित सहिद सुहरावर्दी नेशनल इन्डोर स्टेडियमा आज भएको खेलमा नेपाल श्रीलंकासँग ०-३ को सोझो सेटमा पराजित भएको हो। प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि हिजो भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०-३ को सोझो सेटमा पराजित भएको थियो।
आजको खेलमा नेपालले श्रीलंकासँग पहिलो सेट २४-२६ ले गुमायो भने खेलको दोस्रो सेट १८-२५ ले गुमायो। त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेटमा नेपाल १७-२५ ले पराजित भयो।
यही पुस ११ गतेसम्म चल्ने उक्त च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ। नेपालले अब समूह चरणको तेस्रो तथा अन्तिम खेलमा किर्गिस्तानको सामना गर्नेछ। उक्त खेल भोलि हुनेछ।