काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले शुक्रबार काठमाडौंमा एक दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार काठमाडौंको बानेश्वरमा सम्पन्न प्रशिक्षणमा छानिएका ६० कर्मचारी नेताहरू उपस्थित थिए।
प्रशिक्षणको उर्जामन्त्री एवं नेकपा (माओवादी केन्द्र) को उपमहासचिव पम्फा भुसालले उद्घाटन गरेकी थिइन्। कार्यक्रमको उद्घाटन गर्दै भुसाल पार्टी र पार्टीसम्वद्ध संगठनका नेताहरूको क्षमता बिस्तार र वैचारिकीकरण आजको आवश्यकता भएकोमा जोड दिइन्।
भुसालले भनिन्, ‘पञ्चायतकालपछि हामी ठूलठूला वैचारिक प्रशिक्षण गर्थ्यौं, नेताहरूको वैचारिक स्तर उकास्थ्यौं। तर, शान्ति प्रक्रियामा आएपछि वैचारिक पक्ष ओझेल परेको छ। नेता-कार्यकर्ताको वैचारिक स्तर उठाइकन आजको परिस्थितिमा क्रान्तिको नेतृत्व गर्न सकिँदैन। अज्ञानताले कहीँ क्रान्ति भएको पनि छैन।’
एक दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा विविध ६ विषयमा कक्षा लिइएको थियो। कार्यक्रममा श्रम कार्यालयका कार्यालय प्रमुख सुजन जोजिजुले सामूहिक सौदाबाजी, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले २१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो विषयक राजनीतिक कार्यदिशा, अष्ट्रेलियाका पूर्वराजदुत महेश दाहालले नेतृत्व विकास, प्रगतिशील लेखक संघका उपाध्यक्ष समीर सिंहले मार्क्सवादी दर्शन, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेलले राजनीतिक अर्थशास्त्र, नेकपा (माओवादी केन्द्र) का नेता ईश्वरचन्द्र ज्ञवालीले वैज्ञानिक समाजवाद विषयमा कक्षाको सहजीकरण गरेका थिए।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता एवं कर्मचारी महासंघका फ्याक्सन इञ्चार्ज मोहनमान स्वाँर, महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेमप्रसाद खनाल लगायतले कार्यक्रमको महत्त्व र महासंघका आगामी कार्यक्रम विषयमा बोलेका थिए।