प्रचारात्मक कामलाई अघि बढाइन्छ : केपी ओली

KP sharma Oli
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वैचारिक, संगठनात्मक र प्रचारात्मक कामलाई विशेष प्राथमिकता दिएर अगाडि बढाउने बताएका छन्।

प्यूठान-काठमाडौं सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीलाई संगठनात्मकरूपमा एकताबद्ध बनाएर अगाडि बढाइने बताए। नेता ओलीले पार्टीका वास्तविक नीतिलाई कार्यकर्ता र जनतासमक्ष लैजाने दृढता व्यक्त गरे।

पार्टी, जनवर्गीय संगठन र तिनका सबै तहलाई चुस्त, दुरुस्त बनाउने उनको भनाइ छ। ‘पाटी कमिटी ठूला भद्दा छन्। ती काम गर्न नसक्ने छन्। ती नाम मात्रका कमिटी नेताको काम आसन ग्रहण गर्ने मात्र होइन। नेताको काम कार्यकर्ता र जनताकोमा जाने र उनीहरूलाई सक्रिय बनाएर पार्टी नीतिअन्तर्गत संगठन विस्तार गर्ने हो,’ उनले भने।

पूर्वप्रधानमन्त्री ओलीले पार्टीका कमिटी ठूला भएकाले संगठनात्मक र आन्दोलनका काम हुन नसकेको भन्दै आसन ग्रहण गराउने मात्र काम भएको बताए। उनले पार्टी एक ढिक्का भएर जनतासमक्ष जाने हो भने निर्वाचन जित्न सकिने विश्वास व्यक्त गरे।

एमालेको मात्र राष्ट्रिय स्वार्थ रहेकाले सरकार सञ्चालनको हैसियत प्राप्त गरेको उनको दाबी थियो। ‘दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थ, जनताको हित, राष्ट्रको हित विकासका आकांक्षा, जनताका समस्याको सम्बोधनलाई केन्द्रबिन्दुमा राखेर एमालेले सोचिरहेको छ। सत्ता स्वार्थमा राखेर होइन,’ उनले भने। -रासस