काठमाडौं। बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएका छन्। शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन्।
प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये एक पद रोजेर लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए।
बाँकी रहेका दुई पदमा माओवादी र नेकपा एसले भागवण्डा गर्ने नयाँ प्रस्ताव देउवासमक्ष प्रस्तुत गरिएको हो। तर, कांग्रेस सभापति देउवाले यो प्रस्ताव अस्विकार गरे। उनले पहिलो चरणमा प्रधानमन्त्री कांग्रेसकै हुनुपर्ने र राष्ट्रपति पनि छाड्न नसकिने बताए। देउवाको अडानपछि प्रचण्ड बालुवाटारबाट बाहिरिए।
बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन्।