बालकोटमा भयो प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति

balkot_4dal
लोकपाटी न्यूज
19 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीका शीर्ष नेताहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गरेको हो।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकका तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै बालकोटबाट ‘नयाँ यात्राको सुरुवात’ भएको उल्लेख गरेका छन्। प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको स्रोतले जानकारी दियो।

बालुवाटारमा सत्ता गठबन्धनमा शक्ति र महत्त्वपूर्ण पदहरूको बाँडफाँडमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेसँगै राजनीतिक सिनारियो बदलिएको छ। नेपाली काँग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कसैलाई नदिने अडान लिएपछि अध्यक्ष प्रचण्ड बालुवाटार बैठकबाट बाहिरिएका थिए।

अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीको समर्थनसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबेदारी पेस गर्ने तयारी गरिएको छ। राष्ट्रपति भण्डारीले गत आइतबार ७ दिनको समय सीमा तोक्दै प्रधानमन्त्रीमा दाबेदारी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन्। राष्ट्रपतिले दिएको समय सीमा आज (आइतबार) अपराह्न ५ बजे सकिँदै छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्