जेष्ठ नागरिककै कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापित : उपमेयर अधिकारी

chitrasen adhikari
लोकपाटी न्यूज
4 Shares

आशिष अधिकारी/ चितवन, ११ पुष। भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जेष्ठ नागरिकहरुकै कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापित भएको बताएका छन्। उपप्रमुख अधिकारीले २०६२/०६३ को जनआन्दोलनमा जेष्ठ नागरिकहरुले पुर्‍याएको योगदानकै कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापना भएको बताएका हुन्।

दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा भरतपुर महानगरपालिका र ज्येष्ठ नागरिक संघ चितवनको संयुक्त आयोजनामा सोमबार भरतपुरमा भएको अन्तरक्रिया कार्यक्रमलाई उद्घघाटन गर्दै उपप्रमुख अधिकारीले भने, ‘जेष्ठ नागरिकहरु लोकतन्त्र र गणतन्त्रका नायक हुनुहुन्छ।’

आगामी तेस्रो जेष्ठ नागरिक दिवसलाई महानगरको सहयोगमा भव्य रुपबाट मनाउने गरी महानगर सहयोग गर्न तयार रहेको पनि उपप्रमुखले उल्लेख गरे। महानगर जेष्ठ नागरिक आमा बुवाहरुकै साथमा छ, तपाईंहरुको सुख दुखमा महानगरले परिवारको सदस्यको रुपमा सहयोग गर्न तयार रहेको उनले बताए।

जेष्ठ नागरिकहरुका लागि भरतपुरमा रहेका अस्पतालहरुमा समन्वय गरी १० शैया छुट्याइएको भएता पनि आगामी दिनहरुमा अझ बढी सेवा सुबिधा उपलब्ध गराउने उपप्रमुखको प्रतिबद्धता रहेको छ। कार्यक्रममा अधिवक्ता एकनारायण सापकोटाले कानुनी प्रशिक्षण दिएका थिए।

त्यस्तै कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष माधव शर्मा घिमिरेले कार्यक्रमको विषय बस्तुमाथि प्रकाश पारेका थिए। कार्यक्रममा भरतपुर- १० का वडाध्यक्ष परमेश्वर खनाल, संस्थाका केन्द्रीय सदस्य भोजराज न्यौपाने लगायतले मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्