दृष्टिविहीन नेत्र : एक वर्षदेखि रोगसँगको संघर्ष, उपचार गर्न सहयोगको भर

तस्बिर : राजबाबु पिसी
लोकपाटी न्यूज
12 Shares
  • निर्मल पौडेल

 पर्वत। कुस्मा नगरपालिका ९ कटुवाचौपारीका ४१ वर्षीय दृष्टिविहीन नेत्रप्रसाद श्रेष्ठको आर्थिक अभावका कारण हर्नियाँको उपचार हुन नसकेकोले आर्थिक सहयोगको अपिल गरेका छन्। पाखुरीको भरमा ८ जनाको चुल्हो बाल्ने नेत्रलाई हर्नियाँले छोएपछि विगत १ वर्षदेखि थला परेका छन्।

गत साता पर्वत अस्पतालमा उपचार गराएर अस्पतालले रिफर गरेपछि गण्डकी मेडिकल कलेज पोखरा पुगेका नेत्रलाई अप्रेसन गर्नपर्ने भएपछि आर्थिक अभाव भएको हो। अप्रेसनको लागि करिब २ लाख लाग्ने भएपछि उनी अहिले घरको ओछ्यानमा जीवन मरणको दोसाँधमा पल्टिरहेका छन्। दुई छोरा तीन छोरी श्रीमती र आमा गरी ८ जनाको परिवारलाई ज्याला मजदुरी गरी पाल्दै आएका नेत्रलाई नै रोगले छोएपछि परिवार शोकमा परेको छ।

दृष्टिविहीन भए पनि आफूले सक्ने काम गरेर जसोतसो गुजारा चलाएका नेत्रको आर्थिक अभावको कारण उपचार गर्न नसकेकोले सहयोग गरी जीवन रक्षा गरिइदिनका लागि सबैमा परिवारले हार्दिक अपिल गरेको छ। अहिलेसम्म कुश्मा नगरपालिका र कुनपा वार्ड नम्बर ९ ले १० हजार उपलब्ध गराए पनि उपचारका लागि प्राप्त रकम नपुगेको श्रीमती अनिता श्रेष्ठले पछ्यौरीले आँसु पुछ्दै बताइन्।

उनले भनिन् “यिनलाई नै यस्तो भयो दैवले नि निमुखालाई नै हेर्दो रैच बोली पुर्‍याउन सकिनन्। साँझ खाए बिहान के खाने ? बिहान खाए साँझ के खाने ? भन्ने समस्या छ, त्यसैमाथि यिनलाई रोग लाग्यो उपचार अर्न सकिएन!”

भक्कानिएर अनिताले भनिन् “नाक कान रित्तै छन्, बाले बिहेमा लाइदिएका रिङ्ग तिलरी पनि छोराछोरी हुर्काउँदा सकिए, सम्पत्तिको नाममा यही एउटा टहरो र थोरै पखेरो छ बेचौँ भनेनी कसैले किन्दैनन्, किनिहाले पनि यी केटाकेटी बुढी आमा लिएर काँ जाने ?” `अर्कोतिर यी ५ जना केटाकेटीलाई पनि कापी कलम पुर्‍याउन सकिएको छैन, परिवार नै एकै चोटि मरौजस्तो लाग्छ।’

गुप्तेश्वर बहुमुखी क्याम्पस बाट बि एड अध्ययन गर्दागर्दै आर्थिक अभावकै कारण पढाई छाडेका नेत्रले ज्याला मजदुरीकै भरमा परिवार पाल्दै आएका थिए। लौरोको सहायताले भारी बोकेर र गाउँमा गिट्टी कुटेर जीविका निर्वाह गर्ने नेत्रको नेत्र त थिएन नै तर हर्नियाँले पनि स्वस्थ भएर ज्यून दिएन। धर्म गर्न कुनै चारधाम पुग्नुपर्दैन, तपाई हाम्रो सानो सानो सहयोगले पनि नेत्रको उपचार सम्भव छ।

केही दिनमा खाने खाजा खर्च कटौती गरेर भए पनि नेत्रलाई सहयोग गर्न सकिन्छ। एक पटक सोचौं त जीवन कति अमूल्य छ ? नेत्रको जीवन रक्षाको लागि सहयोग गर्न इच्छुक मानवीय मनहरूले हर्नियाँ पीडित नेत्र श्रेष्ठकी श्रीमती अनिताको मोबाइल नम्बर (९८६७७७२७७१, ९८४७७८३९१६) मा सम्पर्क गर्नसमेत अनिताले अनुरोध गरेकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्