बाजुरामा जटिल गर्भवती महिलाको सफल सल्यक्रिया

pic bajura
लोकपाटी न्यूज
4 Shares

राजेन्द्र बिक/ बाजुरा,१४पुष। बाजुराको बुढिनन्दा नगरपालिकास्थित कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार जटिल प्रकृतिको समस्या भएकी एक गर्भवती महिलाको चिकित्सकले सफल सल्यक्रिया गरेका छन्। बुढिनन्दा नगरपालिका वडा नम्बर-७ कि रमिला ल्वारको पेटमा उल्टो अवस्थामा बच्चा रहेपछि सुत्केरी हुन समस्या भएको थियो।

बच्चाको टाउको पेटमै र खुट्टा अगाडि निस्केको अवस्था थियो। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सोनाम गुरुङको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलिले सफल शल्यक्रिया गरेको हो। यस्तो जटिल प्रकृतिका केशहरुमा एनआइसियु आवश्यक हुन्छ, तर यहाँ अफ्ठ्यारो परिस्थिति र सामग्री अभावमै सफल अप्रेसन गरेको स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताए।

रमिलाको पाठेघरमा समस्या रहेकाले यो भन्दा अगाडि तीन वटा बच्चा खेर गइसकेका थिए। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पहिलो पटक विशषेज्ञ सेवा संचालन गरिएको छ। स्वास्थ्य केन्द्रमा दुई जनामा विशेषज्ञ चिकित्सकको व्यवस्थापनसँगै सेवा सञ्चालनमा ल्याएको बुढिनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराले बताए। स्वास्थ्य केन्द्रमा स्त्री रोग विशेषज्ञ डा. सोनाम गुरुङ र एमडीजिपि डा.रन्जित शाहले सेवा दिइरहेका छन्।

पालिकाको पहलमा स्त्रीरोग विशेषज्ञ डा. सोनाम गुरुङलाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान र एमडीजिपि डा.रन्जित शाहलाई स्वास्थ्य मन्त्रालयले पठाएको हो। पहाडी तथा हिमाली जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्रको हकमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा पहिलो रहेको छ।

नागरिकलाई सहज उपचार सेवामा जोड्न आकस्मिक प्रसुती सेवासँगै विशेषज्ञ सेवा सञ्चालनमा आएको हो। दुबै जना चिकित्सलाई पालिकाबाट पनि सहयोग गरिएको छ। बाजुराको कोल्टि क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य उपचारका लागि नगरपालिकाको पहलमा विशषेज्ञ सेवा सञ्चालन गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताए।

जिल्ला अस्पताल बाजुरामा समेत सेवा नभएको बेला कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भने विशषेज्ञ सहितको स्वास्थ्य सेवा सञ्चालन ल्याइएको हो। सेवा सञ्चालनसँगै बुढीनन्दा नगरपालिकासहित हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँ पालिकासहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका नागरिकले सेवा पाउने भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्