सुदूरपश्चिममा भोलि हुँदै प्रदेशसभा सदस्यको शपथ

Sudurpaschim-pradesh-sabha-pic
लोकपाटी न्यूज
5 Shares

धनगढी। सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण भोली शुक्रबार हुने भएको छ। प्रदेशसभा सचिवालयले शपथ ग्रहणका लागि आवश्यक पर्ने सबै तयारी पूरा भएको जनाएको छ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले पद तथा गोपनियताको शपथका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको जानकारी दिए।दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावल (६८) ले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

रावलले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरिसकेपछि दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जनालाई रावलले शपथ ग्रहण गराउने जैशीले बताए। शपथका लागि सभाहल व्यवस्थापनदेखि तथा अन्य व्यवस्थापकीय काम पनि भइसकेको छ।

शपथ ग्रहण सकिएपछि प्रदेशसभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रमको समेत आयोजना गरिएको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) का ३, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य विजयी भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्