काँग्रेस महामन्त्रीद्वय भन्छन् : अबको समय पार्टीको शुद्धीकरणमा प्रयोग गर्छौं

Gagan-Thapa_Bishwaprakash-Sharma
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम तथा त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने उल्लेख गरेका छन्। पार्टीबाट असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने उनीहरूले उल्लेख गरेका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्तिमार्फत काँग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्ने उल्लेख गरेका छन्। विसं २०३३ मा आजकै दिन ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीति लिएर जननायक बिपी कोइराला निर्वासनबाट स्वदेश फर्किएका थिए। त्यस बेला सबै मिलेर हाम्रो देशको लोकतन्त्र, शान्ति र समुन्नतिमा योगदान दिन उनले गरेको आह्वान आज पनि उत्तिकै सान्दर्भिक छ।

गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपश्चात् मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको छ। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि काँग्रेस प्रतिपक्ष बन्न पुगेको छ। ‘नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौं। तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा केबल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौं। हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनका बेला एउटा गठबन्धन र एउटा वाचा बन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तीमा हामीबाट भएन,’ विज्ञप्तिमा उल्लेख छ।

काँग्रेसले वर्तमान सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्ने, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षका रुपमा सशक्त भूमिका निर्वाह गर्ने तथा राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिने महामन्त्रीद्वय थापा र शर्माको भनाइ छ। काँग्रेसले आफ्नो गौरवशाली इतिहासमा यस्ता अनेकौँ चुनौती र अप्ठ्यारा मोड सामना गरेको तर हर चुनौतीलाई चिरेर दृढतापूर्वक अघि बढेको छ र देशलाई सफलतापूर्वक निकास दिएको छ। त्यसैले अहिलेको परिस्थितिलाई पनि संकटका रूपमा लिएर हतास हुने छुट आफूहरूलाई नभएको उल्लेख गर्दै उनीहरूले यसलाई पार्टीको शुद्धीकरण र पुनर्जागरणको नवीन अवसरमा बदल्ने जबरजस्त तागत प्रस्तुत गर्ने बताएका छन्।

पार्टीलाई अहिलेको अलमलबाट बाहिर निकाल्नै पर्ने र अहिलेको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्ने उद्घोषका साथ महामन्त्रीद्वय थापा र शर्माले त्यसका लागि अविलम्ब पार्टीको संरचना र संगठन गतिशील र चुस्त बनाउने बताएका छन्। विधानत, पार्टीमा बनाउनुपर्ने सबै संरचना र भ्रातृ तथा शुभेच्छुक संस्थाको विधिसम्मत पूर्णता दिने, पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम सञ्चालन गर्ने, विधानबमोजिम गर्नुपर्ने नीति महाधिवेशन गरी पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम अविलम्ब गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

कार्यकर्ता पङ्क्तिमा आत्मविश्वास र आमजनताको भरोसालाई पुनः स्थापित गर्नेगरी पार्टीलाई दिशानिर्देश गर्न पार्टीमा आत्मसमीक्षा गरेर मात्रै पुग्दैन र त्यसलाई सच्याउँदै आफू बदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्ने दृढता व्यक्त गरेका छन्। ‘बदलिएको काँग्रेस र बलियो काँग्रेस’को स्पष्ट खाका निर्माण र अवलम्बन गर्न अब हरेकले फेरि एकचोटी जुरमुराउनुपर्ने उल्लेख गर्दै उनीहरूले यस अवस्थामा पार्टीको केन्द्रदेखि टोलसम्म, भ्रातृ संस्थादेखि शुभेच्छुक संस्थासम्म, पेशागत बुद्धिजीवीदेखि श्रमिक र किसानसम्म, स्वदेशको गाउँदेखि परदेशको मरुभूमिसम्म जो जहाँ छौँ, त्यहीँबाट संस्थागत या व्यक्तिगतरुपमा गर्न सक्ने योगदानका लागि थप उत्साह, एकता र रूपान्तरणको भावनासाथ अघि बढ्न हामी अपिल गरेका छन्।

आजको समयसम्म आइपुग्दा वैचारिक रूपान्तरणले होस् या बाध्यताले नेपालका प्रायः सबै राजनीतिक दल संसदीय लोकतान्त्रिक परिपाटीमा समाहित भएका छन्। लोकतान्त्रिक मार्ग नेपालको राष्ट्रिय एकताको साझा अठोट र साझा मार्ग बन्दै गएको छ। यसमा सन्तोष मान्नुपर्छ किनकि मूलतः यो बिपी कोइरालाको राजनीतिक विचार र प्रभावको विजय भएको महामन्त्रीद्वय थापा र शर्माले बताएका छन्। तर यसै व्यवस्थाभित्र जन्मिन सक्ने अधिनायकवादी र अतिवादी चिन्तनलाई परास्त गर्न काँग्रेस सदैव सजग रहने उनीहरूको भनाइ छ।

महामन्त्रीद्वय थापा र शर्माले ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आधार हिजोको समयमा राष्ट्रियताको रक्षा र लोकतान्त्रिक प्रणाली रहेको उल्लेख गर्दै सन्तुलित बाह्य सम्बन्ध, सबल राष्ट्रियता, सुदृढ लोकतन्त्र र सुशासनको मार्गबाट नेपालको समुन्नति सम्भव छ भन्ने मान्यता आजको मेलमिलापको आधार र विश्वास हो भन्ने तथ्यमा आफूहरू प्रष्ट र दृढ रहेको तथा त्यो यात्रामा अविचलित ढंगले समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्