हामी वाम एकताको पक्षमा छौं : महेश बस्नेत

Mahesh_Basnet
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले वामपन्थीबीच एकताको लागि आफूहरू सक्रिय भएको बताएका छन्। रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले वामपन्थीको एकता नै नेपाली जनताको चाहना भएको बताएका हुन्।

उनले भने, ‘हामीले भर्खरै आम निर्वाचन सम्पन्न गरेका छौं। नयाँ जनादेश लिएर हामी अघि बढेका छौं। निर्वाचनअघि हाम्रो आंकलन एक्लै बहुमत ल्याउने थियो। तर, त्यस्तो भएन। समानुपातिक मतमा प्रथम भयौं। ७ मध्ये ६ प्रदेशमा हामी प्रथम दल भयौं। ५० प्रतिशत पपुलर मत ल्याउँछौं भन्ने थियो। यो निर्वाचनले एउटा गम्भीर समीक्षा गरेर अघि बढ्न भनेको छ।’

बस्नेतले पुराना दलप्रति जनताको केही वितृष्णा देखिएको पनि उल्लेख गरे। र, जनताको पुराना दलप्रतिको आक्रोशको कारण स्वतन्त्र, जनमत पार्टीहरू नयाँ ढंगले उदाउने परिस्थिति बनको उनको बुझाइ छ। उनले भने, ‘अब वामपन्थीहरुबीचको एकता नै नेपाली जनताको चाहना हो। समानुपातिकको मत जोड्दा वामपन्थीहरूको मत दुई तिहाइ हुने, तर सरकार बनाउन बहुमत नपुग्ने अवस्था छ, हामी वामपन्थी गठबन्धन निर्माण गर्ने अभियानमा लाग्यौं। त्यसमा सफलता मिलेको छ।’

उनले अब नेपालको राजनीति अस्थिरतातर्फ नजाओस् भन्नेतर्फ सबै सचेत हुनुपर्ने बताए। उनले भने, ‘दलहरू ठूलो बनाउने दिशामा गयौं भने राजनीतिक स्थिरता हुनेछ। हामी वाम गठबन्धन हुँदै एकता प्रक्रियासम्म लैजानुपर्छ भन्ने पक्षमा छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्