प्रधानमन्त्री प्रचण्डले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

Prachanda_Election
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रियसभामा रिक्त रहेको १ स्थानसहित राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने विषयमा प्रधानमन्त्री प्रचण्डले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका निर्वाचन आयोगका पदाधिकारीहरूसँग परामर्श गरेका हुन्।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पनि सहभागिता रहेको थियो। संविधान र कानुन बमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभामा रिक्त रहेका १ स्थानको पनि निर्वाचन गराउने विषयमा प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग परामर्श गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जानकारी दिए।

उनले भने, ‘राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभामा एक स्थान रिक्त छ। त्यसको निर्वाचनलगायतका विषयमा निर्वाचन आयोगका पदाधिकारीज्यूहरूले सम्माननीय प्रधानमन्त्रीज्यूसँग परामर्श गर्नु भएको हो। निर्वाचनको मिति पछि समय आएपछि थाहा भइहाल्छ।’

नयाँ संसद् आएसँगै राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सोही काममा लागि प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग छलफल गरेका हुन्। उपप्रधानमन्त्री पौडेलका अनुसार निर्वाचनको मिति भने अर्को बैठकले तय गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्