चितवन महोत्सवको उद्घाटन अर्थमन्त्री पौडेलले गर्ने

ctw mahotsab
लोकपाटी न्यूज
2 Shares

चितवन। चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुन लागेको १४औँ संस्करणको चितवन महोत्सवको उद्घाटन गर्न नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल आउने भएका छन्। महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले आज मंगलबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुस २५ गते अर्थमन्त्री पौडेलले महोत्सवको उद्घाटन गर्ने जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको पहिचान, यहाँको बहुआयामिक विविधता, पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य चितवन हो भन्ने विषयमा महोत्सव केन्द्रित रहने जानकारी दिए।

माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पोल्ट्री तथा उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुने श्रेष्ठले जानकारी दिए।
यसवर्षको महोत्सवमा सात वटा विशेष स्टल, डोम, र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४५० वटा स्टलहरु रहने श्रेष्ठको भनाइ छ। महोत्सवमा राखिने सम्पूर्ण स्टलहरुको बीमा गरिएको श्रेष्ठको भनाइ छ। दश दिनसम्म सञ्चालन हुने महोत्सवमा विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरुको भेषभूषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपजको प्रर्दशनी रहने श्रेष्ठले बताए।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननाराण श्रेष्ठले चितवन महोत्सव अन्तर्गत परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबलको आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए। त्यस्तै पुस २९ देखि माघ ३ गतेसम्म कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रहि विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिने श्रेष्ठले जानकारी दिए।

महोत्सवमा फर्न पार्क सञ्चालन गरिने भन्दै श्रेष्ठले महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपद्लाई मध्येनजर गर्दै महोत्सव अवधीभर एम्बुलेन्सको व्यवस्था, उद्धार टोलीको व्यवस्था, प्राथमिक उपचार केन्द्र, निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रमहरु हुने श्रेष्ठले बताए। यसपटकको महोत्सवमा मौरी र तोरीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मौरीको प्रतीमा सहित तोरीबारीको निर्माण गरि कृषि कर्मतर्फ आकर्षित गर्न लागेको श्रेष्ठको भनाइ छ

चितवन महोत्सव २०७९ मा कलात्मक प्रवेशद्वारका साथै कलात्मक आकृतिहरु निर्माण गरिने श्रेष्ठले बताए। स्थानीय प्रशासनको सहकार्यमा सुरक्षा व्यवस्था मजबुत पारिनुका साथै महोत्सवस्थलमा सिसिटिभी क्यामेराबाट २४ सै घण्टा निगरानी गरिने उनले बताए। महोत्सव परिसरमा फ्रि वाईफाईको व्यवस्था गरिनुका साथै अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिलालाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए। महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई रु ६० तथा विद्यार्थीका लागि रु ३० को टिकटको व्यवस्था गरिएको श्रेष्ठले बताए। आन्तरिक तथा बाह्य पर्यटकसहित करिब पाँच लाखले महोत्सवको अवलोकन गर्ने अपेक्षा राखेको आयोजकले महोत्सव अवधिभर करिब रु २५ करोडको कारोबार हुने अनुमान गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्