संघीय कानुन बनेपछि मात्रै प्रदेशसभाको प्रभावकारिता बढ्छ : ओनसरी घर्ती

onsari_gharti
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)की नेत्री एवं प्रतिनिधि सभाकी पूर्वसभामुख ओनसरी घर्तीले संघीय कानुन निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानुन निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताएकी छन्। स्पिकर्स फोरम नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रियामा उनले यस्तो बताएकी हुन्।

नेत्री घर्तीले संघीय शासन प्रणालीको दोस्रो कार्यकाल सुरु भइसक्दासमेत संघमा आवश्यक कानुन निर्माण हुन नसकेकाले आम सर्वसाधारणलेसमेत समस्या व्यहोरिरहेको बताइन्। उनले संघीय कानुन बनिसकेपछि मात्रै प्रदेशसभाको प्रभावकारिता बढ्ने बताइन्।

उनले भनिन्, ‘दोस्रो कार्यकाल सुरु भइसक्दासमेत कानुन निर्माण हुन सकेको छैन। संघको कानुन नबन्दा सर्वसाधारणले धेरै नै समस्या भोगिरहेका छन्। यी कुरामा ध्यान दिनुपर्छ। त्यसपछि प्रदेश सभामा प्रभावकारिता छ। कानुन त पहिला बन्नुपर्छ। जसको समस्या प्रदेश र स्थानीय तहले भोगिरहेका छन्। यसमा ध्यानाकर्षण गर्दछु।’

पूर्व सभामुख घर्तीले जनताले आफ्ना जनप्रतिनिधिले संसदमा गरिरहेका कार्य हेर्न पाउनुपर्ने बताइन्। उनले जनता र जनप्रतिनिधिबीचको सम्बन्ध पाँच वर्षमा भोट माग्न जानेकुरामा मात्रै सीमित हुनु नहुने बताइन्। उनले संसदमा जनगुनासाको सम्बोधन हुनुपर्ने पनि बताइन्। उनले जनप्रतिनिधिले पद पाएपछि जनतासँग गरेका वाचा भुल्न सक्ने भन्दै जनताले आफ्ना जनप्रतिनिधिलाई झक्झकाइरहनुपर्ने बताइन्।

उनले जनताको काम गर्न र संसदका गतिविधिलाई पारदर्शी बनाउन संघ र प्रदेशले प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन्। उनले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ सांसदलाई ठूलो चुनौती रहेको बताइन्। नेपालमा भएको पैसा पनि खर्च हुन नसकेको भन्दै गुनासोसमेत गरिन्। पूर्व सभामुख घर्तीले सांसदको काम र भूमिकाबारे जनतामा चेतना फैल्याउन आवश्यक रहेको उल्लेख गरिन्। उनले कानुन निर्माणका बारेमा विभिन्न स्तरका बैठक र छलफल हुनुपर्ने बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्