बैतडी। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले पहिलो जित निकालेको छ। बैतडीले अछामलाई ९० रनले पराजित गरेको हो।
आजको खेलमा बैतडीले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको अछाको पारी नौ दशमलव चार ओभरमा १६ रनमा समेटियो। बलिङतर्फ बैतडीका लागि निर्मला भण्डारीले चार तथा कप्तान रितु कनौजिया र पिंकी बोहराले दुई/दुई विकेट हात पारिन्।
त्यसअघि कैलालीको फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा एक सय छ रन बनायो। कप्तान रितु कनौजियाले ४१, ममता बोहराले अविजित १९ र निर्मला भण्डारीले अविजित ११ रन बनाइन्। बलिङतर्फ अछामकी रविना साउँद, अस्मिता औजी र कविता सुनारले एक/एक विकेट लिइन्। उक्त खेलको प्लेयर अफ द म्याच बैतडीकी कप्तान रितु कनौजिया घोषित भइन्।
यसअघि सोमबार बैतडी कञ्चनपुरसँग पराजित भएको थियो। बैतडीले अर्को खेल बुधबार डोटीसँग खेल्नेछ। प्रतियोगितामा सहभागी सात टोलीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल खेल हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए। प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ।
उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पुस २९ गतेदेखि सुनसरीको इटहरीमा हुने तय भएको छ।