माओवादीमा फर्किए रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य

लोकपाटी न्यूज
7 Shares

काठमाडौं। रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन्। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उनी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बनेका थिए।

उनी लुम्बिनी प्रदेशसभामा भारी मतले विजयी भएका थिए। मगरले पार्टी छाडेकामा आत्मआलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएका छन्। पार्टी छाडेर निर्वाचनमा उम्मेदवार बनेपछि उनलाई माओवादीले निष्कासन गरेको थियो।

मगरलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रोल्पाका प्रतिनिधिसभा सदस्य एवम् माओवादी नेता वर्षमान पुनले पार्टीमा स्वागत गरे।