नेपाल टी-ट्वान्टी लिग क्रिकेट : लुम्बिनी अल स्टार विजयी

Cricket_TU
फाइल तस्बिर
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाडौंलाई एक सय दुई रनले पराजित गरेको हो। सत्र ओभरमा छोट्याइएको खेलमा लुम्बिनीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर मात्र ८१ रनमा समेटियो।

काठमाडौंका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरीले १६ रन बनाए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रनको योगदान दिए। बलिङतर्फ लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान दुई/दुई विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन बनायो। लुम्बिनीका लागि हरमित सिंहले ७० रनको योगदान दिए। यस्तै लाहिरु मिलान्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७, अनिल शाहले १६ तथा कुशल भुर्तेल १५ रन बनाए। बलिङतर्फ काठमाडौंका लागि अभिनाश बोहोराले तीन तथा बसिर अहमदले दुई विकेट लिए।

जितसँगै लुम्बिनीले हालसम्म खेलेको नौ खेलमध्ये आठमा जित र एकमा हारका साथ १६ अंकसहित शीर्ष स्थानमा छ। हारसँगै काठमाडौंले आठ खेलमध्ये चारमा जित र चारमा हारका साथ आठ अंक जोडेको छ। काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्