बागमतीमा पुस २८ गते सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता

लोकपाटी न्यूज
7 Shares

मकवानपुर। बागमती प्रदेशसभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ।

सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार, पुस २८ गते बिहान १० : ३० बजेदेखि २ बजेसम्म आ-आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ। यसैगरी, उक्त दिनको २ : ३० बजेदेखि ३ : ३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

यसैगरी, सोही दिनको अपराह्न ४ बजेभित्र सभामुख र उपसभामुख पदको उम्मेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

बागमती प्रदेशसभामा अहिले नेपाली काँग्रेसको ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्