आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

फाइल तस्बिर
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिएकी छन्। जुत्ता उत्पादक संघ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन गर्दै उनले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्ने बताइन्।

राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निकासी प्रवर्द्धन गर्न सके मात्र हाल मुलुकले बेहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने धारणा राखिन्। उनले भने, ‘आजको प्रतिस्पर्धी युगमा उत्पादनको विविधीकरण र उपभोक्ताको रुचिलाई ध्यानमा दिएर गुणस्तरीय उत्पादनसहित ब्राण्डिङ गर्न सकेको खण्डमा नेपाली उत्पादनमार्फत विश्व बजारबाट लाभ हासिल गर्न सकिन्थ्यो, त्यसैले स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक छ।’

नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउन जुत्ता चप्पल उद्योगले पनि महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले सरकार र निजी क्षेत्रबीच साझेदारीता अभिवृद्धिका साथ नेपाली उत्पादन प्रवर्द्धन र निर्यातमा मेला उपयोगी हुने विश्वास व्यक्त गरे। राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन सरकारले विशेष ध्यान पुर्‍याउनुपर्दछ भनिन्।

‘नेपालको आर्थिक विकास गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेका छौं। ती क्षेत्रमा लगानी बढाउन र सहजीकरण गर्न उद्योगमैत्री नीति बनाएर निजी क्षेत्र र सरकारबीच उच्चस्तरको समझदारीका साथ मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन जरुरी छ,’ उनले भनिन्।

कार्यक्रममा विना विभागीय मन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादन प्रवर्द्धनका लागि सरकार सकारात्मक रहेको भन्दै छिट्टै टुंगिने सरकारको न्यूनतम साझा कार्यक्रममा व्यावसायिक समस्याको सम्बोधन हुने विश्वास व्यक्त गरे। उनले सरकार निजी क्षेत्रको साथमा रहेको भन्दै निजी क्षेत्रको साझेदारीतामा अर्थतन्त्रलाई माथि उकास्न सक्रिय हुने बताए। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्