काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको बारेमा आज शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुने भएको छ। सर्वोच्चको संवैधानिक इजलासमा उपप्रधानमन्त्री लामिछानेको नागरिकता र राहदानीमा देखिएका विवादको बारेमा आज छलफल हुन लागेको हो।
संवैधानिक इजलासले सोही रिटमाथि सुनुवाई गर्दै यहि पुस ६ गते कारण देखाउ आदेश जारी गरेको थियो। संवैधानिक इजलासले लामिछानेलाई सांसदका रूपमा कामकाजमा रोक लगाउन माग गरिएको विषयमा छलफल गर्न दुवै पक्षलाई शुक्रबार बोलाएको छ।
संवैधानिक इजलासको आदेशअनुसार प्रतिनिधि सभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वोच्च अदालतमा छुट्टा-छुट्टै लिखित जवाफ पठाएका छन्। लामिछानेले अमेरिकाको नागरिकता लिना साथ नेपाली नागरिकता खारेज भएको र उनी नेपाल फर्केपछि अमेरिकाको नागरिकता त्यागेर फेरी नेपाली नागरिकता नलिएको भन्दै सांसद पद समेत खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा रिट निवेदन परेको थियो।
अर्को रिट निवेदनमा मन्त्री लामिछानेले एकसाथ अमेरिका र नेपालको पासपोर्ट प्रयोग गरेकाले उनीमाथि छानविन र कारबाही हुनुपर्ने माग गरिएको छ। गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा मन्त्री लामिछाने चितवन–२ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए। पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीमा उनी नियुक्त भएका थिए।