भ्रम र क्षमताबीचको प्रतिस्पर्धामा जीवन आचार्य

Jiwan_Acharya
लोकपाटी न्यूज
13 Shares
  • अमर न्यौपाने

६ वर्ष अघि रेणु दाहाललाई घेराबन्दी गरियो। प्रचण्ड पुत्रीलाई राजनीतिमा स्थान दिने कि नदिने भन्ने विषयमा ठूलो बहस भयो। भरतपुरमा मेयरको टिकट पाउने चर्चा सुरुभएबाटै सामाजिक सञ्जाल र मिडियामा रेणु विरुद्ध समाचार लेख्नेको समाज ठूलो थियो। पार्टीमा योगदान गर्ने र युद्ध लड्नेले केही नपाएको र प्रचण्ड परिवारले मात्र सबथोक पाएको तर्क यत्रतत्र छरियो।

रेणु दाहालले टिकट पाइन्, चुनाव जितिन्। चुनाव जितेका केही वर्षसम्म पनि घेराबन्दी कायम रह्यो। आलोचनाका समाचारहरू छाइरहे, फाटफुट। बिस्तारै माहोल फेरियो। भरतपुरमा भएका उदाहरणीय कामहरू सार्वजनिक हुन थाले। हिजो विरोध गर्ने मिडियाहरूले उनको कामलाई केही स्थान दिन थाले। ठूलाठूला प्रोजेक्टको सुरुवातदेखि जनतासँग प्रत्यक्ष जोडिएका विषयहरूको सम्बोधन हुन थाले। शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नालाजस्ता जनतासँग प्रत्यक्ष जोडिएका कामहरूले पनि तीव्रता पाए। भरतपुरवासीले मात्र होइन, बाहिरका जनताले पनि त्यहाँको कामको प्रशंसा गर्न थाले।

रेणु दाहाललाई प्रचण्ड पुत्रीको रुपमा व्याख्या गरेर उनलाई कमजोर बनाउने र आफ्ना फाइदामा तल्लिन हुने गिरोह साइजमा आयो। सुजता कोइरालासँग तुलना गरेर परिवारवादको चर्चा गर्नेहरू बिस्तारै सेलाए। रेणुको कामले जित्यो, भ्रमले हार्‍यो। फलस्वरूप, कार्यसम्पादनका आधारमा भरतपुर महानगर देशकै उत्कृष्ट पालिकाभित्र पर्‍यो।

त्यस्तै घेराबन्दी आज प्रदेश १ मा सुरु भएको छ। पार्टीका केहि व्यक्तिहरू आज जीवन आचार्यलाई पछार्न पाए आफू अघि बढिन्थ्यो भन्ने दाउमा लागेको देखिन्छ। यो क्रम आजबाट सुरु भएको होइन। पाँच वर्ष अघि जीवनलाई चुनाव उठ्न नदिन ठूलो शक्ति परिचालित थियो। तर पनि, जीवन चुनाव उठे। केहि व्यक्तिको घेराबन्दीका कारण उनी पराजित हुन पुगे। तर, क्षेत्र छोडेनन्। केही दलालहरूले जीवनलाई प्रचण्डको ज्वाईंको ‘ट्याग’ निरन्तर लगाइरहे। सबै आलोचनालाई बेवास्ता गर्दै उनी हारेर पनि क्षेत्र र प्रदेशमा निरन्तर काम गरिरहे। विकासका कामहरूमा प्रत्यक्ष जोडिनेदेखि पुलको काम गर्न जीवनले भ्याए। नेतृत्वसँगको सिधा सम्पर्कले जीवनलाई काम गर्न, कार्यक्रम ल्याउन र कार्यान्वयन गराउन सहज थियो। उनले व्यक्तिगत फाइदा र स्वार्थ त्यागे र जनताको काममा निरन्तर सक्रियता देखाए।

दोस्रो पटक उनी मोरङ ६ (१) बाटै प्रदेश सभा पदमा चुनाव लडे। हारेर पनि जनताका काममा प्रत्यक्ष जोडिनु र ठूलाठूला विकासका बजेटहरू ल्याउनु चानचुने विषय थिएन। यहाँ जित्नेहरू व्यक्तिगत स्वार्थमा केन्द्रित हुन्छन्। जमात त्यस्तैको छ। तर, जीवनको निस्वार्थ सेवाको भाव र राजनीतिक दृढता जनताले नियालिरहेका थिए। निःस्वार्थ भावले जनताको सेवामा खटिरहने जीवनलाई दोस्रो प्रयासले सफलता दिलायो। पार्टी र जनताको सहयोगबाट उनले चुनाव जिते।

उनलाई जनताले प्रचण्डका ज्वाईं भएर भोट हालेका होइनन्। हो, उनले युद्ध लडेनन्। माओवादी पार्टीमा पछि जोडिए। तर, उनीमा एउटा उर्जा छ। क्षमता छ। परिवर्तनको खाका कोर्न सक्ने र जनताको भावना बुझ्न सक्ने इच्छाशक्ति छ। क्षेत्र मात्र होइन, प्रदेशकै विकासमा योगदान पुर्‍याउन सक्ने ताकत छ। यो बुझेर जनताले उनलाई पाँच वर्षलाई काम गर्ने ‘म्यान्डेड’ दिएका छन्। उनीप्रति एउटा आशा राखे। जनताको आशा अनुरूप जीवनले भरोसा दिलाए। व्यक्तिगत र संस्थागत स्वार्थ त्यागेर जनताको सेवा गर्ने प्रतिवद्धता जनाए। जीतको नतिजा त्यसकै प्रतिफल थियो।

आज प्रदेश सरकार बन्ने छलफल अघि बढ्दै छ। सांसद पद जितेकाहरू मन्त्री पाउनुपर्ने लबिङमा सबै छन्, सबै पार्टीका। स्वभाविक पनि हो। हुन त, मन्त्री पद मात्र सबै विषय होइन। काम गर्नेले जसरी पनि गर्न सक्छ। जीवनले सांसद नहुँदा पनि काम गरे। मन्त्री नहुँदा पनि गर्छन्। यो उनमा होइन, उनलाई भोट दिने मतदाताको आत्मविश्वास हो। तर पनि, जीवन मन्त्री हुनुपर्छ भन्ने जमात ठूलो छ। हुनु हुँदैन भन्ने जमात पनि छ।

जीवनलाई मन्त्री नबनाउन नदिन केही व्यक्तिहरू लागिपरेको सुनिन थालेको छ। उनीहरूको एउटै तर्क छ, ‘जीवन प्रचण्डको ज्वाईं हो। त्यस कारण मन्त्री बनाउनु हुँदैन।’ परिवारवादको नारामा बहस हुनु सामान्य विषय हो। तर, जीवनको व्यक्तिगत क्षमता र योग्यता गौण बनाएर परिवारवाद हाबी गराइन्छ भने त्यो अन्याय हो। आज अरू सांसदहरू मन्त्री पदको लविङ गर्दैगर्दा जीवन जनताका एजेण्डामा व्यस्त छन्।

उनलाई पूर्वाञ्चल विश्वविद्यालयमा नियमित स्वास्थ्य सेवा दिलाउने चिन्ता छ। उनलाई केसलिया र संघीया खोलाको तटबन्ध बर्खा अघि नै गराउन पाए हुन्थ्यो भन्नु हुटहुटी छ। सामुदायिक विद्यालयको सुधारमा गर्नुपर्ने कामको योजना बनाउँदैछन्। हरेक जिल्लाका जिल्ला अस्पतालहरूलाई सुविधा सम्पन्न बनाउन उनी चिन्तित छन्। प्रदेश १ मा पाँच हजार विद्यार्थी क्षमताको मेघा विद्यालय बनाएर सीप सहितको शिक्षा दिलाउने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्दैछन्। कृषि र उत्पादनलाई प्रविधिसँग जोड्दै जनतालाई आत्मनिर्भर बनाउने विषयमा उनले मन्त्रालयका सचिवहरूसँग छलफल गरिरहेका छन्। क्षेत्रका मात्र नभएर प्रदेशकै जनतालाई रोजगारीमा जोडाउन सकिने विकल्पहरू खोज्दैछन्। उत्पादनमूलक क्षेत्रहरूमा सिँचाइको प्रबन्ध बढाउन उनले प्रोजेक्ट अघि बढाइसके। पर्यटनको विकासका लागि प्रदेश सरकारको मातहतमा रहेर पर्यटन विश्वविद्यालय स्थापना गराउने विषयमा उनको सक्रिय पहल देखिन्छ। व्यक्तिगत स्वार्थ त्यागेर पार्टीको हित र जनताको हितका पक्षमा उनी निरन्तर काम गर्ने योजनामा छन्।

माओवादीका केही स्वार्थी नेताको बहस हेर्दा प्रदेश १ मा माओवादी त्यसै कमजोर भएको रहेनछ भन्ने अनुभूति हुन्छ। हिजो वर्षौंदेखि पद ओगटेर पार्टीलाई दिन प्रतिदिन गिर्दो अवस्थामा पुर्‍याउनेलाई आज फेरि पद चाहिएको छ। जागिर खानका लागि र फोटो टाँस्न मन्त्री पद चाहिएको छ। जीवन प्रदेश १ मा पार्टीको सांगठनिक विकासदेखि जनताको समृद्धिको खाका कोर्छन्, स्वार्थीहरू उनलाई पछार्न लाग्छन्।

प्रतिस्पर्धा जित्नकै लागि खेलिन्छ। तर, अरूलाई हराएर, तानेर, पछि पारेर वा लडाएर खेलिने प्रतिस्पर्धा दीर्घकालिन हुने कि नहुने ? आफू बलियो भएर प्रतिस्पर्धा गर्ने कि अरूको आलोचना गरेर प्रतिस्पर्धा गर्ने ? यस विषयमा पुराना नेताहरूलाई चेत भएन। पार्टी बनेको बेलामा सांगठनिक सुधारको विषयमा उनीहरूलाई चिन्ता भएन। अनि, अरूको क्षमतालाई ‘ज्वाईं’ पदको ट्याग भिराएर खरो आलोचनामा उत्रिए।

राजनीतिमा योगदान नभएको रवि लामिछानेले कसरी चुनाव जित्छ भन्ने बुढाहरू धेरै थिए। उनीहरू आफ्नो अनुभव र योगदानको दम्भमा रमाइरहेका थिए। आज रवि उपप्रधानसहित गृहमन्त्री छन्। सबैभन्दा कलिलो उमेरमा नोवल पुरस्कार पाउँदा मलालाको आलोचना गर्नेहरू पनि थिए। अहिले पनि छन्। मलाई के लाग्छ भने, ‘मैले मभन्दा पछिको पुस्तालाई विश्वास गर्नुपर्छ। अघिको पुस्तालाई सम्मान गर्नुपर्छ।’ वर्ष बिताउनुलाई योगदान भनिन्न। एजेण्डा बोक्नु र परिवर्तनको सपना देख्नु आजको आवश्यकता हो। युद्ध लड्ने त धेरै थिए। युद्धले देशमा ठूलो रूपान्तरण ल्यायो। यो सत्य हो। तर, जनयुद्धले देशलाई बर्बाद गर्‍यो भन्नेको पनि जमात छ समाजमा। विषयवस्तुलाई कसरी बुझिन्छ भन्ने चेतको भूमिका हुँदो रहेछ। युद्ध लेडको व्याज सधैँ खाइरहने हो भने युवा पुस्ताले कहिले अवसर पाउने ? युद्ध लड्ने र नलड्ने एकै ठाउँमा आइसकेपछिको शान्तिपूर्ण राजनीतिमा युद्धको व्याज खोज्नु कति सान्दर्भिक हुन्छ ? त्यो सम्बन्धितले बुझुन्। तर, व्याजको नाममा कसैको आलोचना अब स्वीकार्य हुन्छ जस्तो लाग्दैन। आफू अघि बढ्नकै लागि कसैलाई पछार्ने कामलाई ठीक भन्न सकिन्न। क्षमतालाई युद्धको व्याजसँग तुलना गर्न किमार्थ मिल्दैन। युद्ध हिजोको आवश्यकता थियो। अहिलेको आवश्यकता अर्कै छ। हिजो पाइडलवाला रिक्सा चलाउनेले मात्र बजारमा ब्याट्रीवाला सिटी रिक्सा कुदाउन पाउने कि अरूले पनि पाउने ?

महत्त्वपूर्ण विषय त, प्रक्रिया र सिस्टम बुझेकाले त पार्टी पंक्तिमा छलफल गराउने हो। जिल्लादेखि केन्द्रसम्म दबाब दिने हो। क्षमता नभएकाले यसो रोएर चित्त बुझाउनु सामान्य हो। तर, नेतृत्वले कसैको रुवाइमा बहकिनु हुँदैन। कसैले कुनै ट्याग लगाउँदैमा कसैको क्षमता घट्दैन। आलोचना र झुटो प्रचार त क्षमता नभएकाले गर्ने हुन्। यो हेक्का प्रचण्डलाई छ। उनले प्रदेश १ मा जीवनलाई मन्त्रीको जिम्मेवारी दिँदा ज्वाईं सम्झिएर होइन, एउटा क्षमतावान् युवा नेतृत्व सम्झिएर असर दिने हो र दिनुपर्छ। कसैको बहकाव र रुवाइले यस्ता विषयहरूलाई प्रभाव पारिनु हुँदैन। कुनै भ्रमात्मक प्रचार वा कुप्रचारमा प्रचण्ड रुमल्लिनु हुँदैन।

त्यसो त, प्रदेशको मन्त्री मण्डलको सन्दर्भमा नेतृत्वबाट छलफल भएकै छैन। मुख्यमन्त्रीकै भागबण्डा मिलेको छैन। मन्त्री को बन्ने वा नबन्ने भन्ने विषयहरू पछिका हुन्। यहाँ केही माननीयहरू आफूलाई मन्त्री घोषणा गर्दै अरूको आलोचनामा उत्रिनुले उनीहरूको क्षमता खुलाएको छ। उनीहरूको कुण्ठा उदाङ्गिएको छ। पद मोह प्रस्टिएको छ।

ज्वाईंकै ट्याग लगाएर कुनै युवाको क्षमतालाई रोक्नु वा अघि बढ्न नदिनु भनेको कुनै व्यक्ति वा पार्टीका लागि मात्र होइन, देशकै लागि अभिसाप हुनेछ। आखिर, जीवन आचार्य प्रचण्डका ज्वाईं कि क्षमतावान् युवा ? यो प्रश्नमा आलोचकहरूले समीक्षा गरुन्। आत्मसमिक्षा गर्दा हुन्छ। सार्वजनिकरण गर्नु पर्दैन। कुण्ठालाई ज्ञानमा बदले पुग्छ। भ्रम र क्षमता बीचको प्रतिस्पर्धामा जीवनले आफ्नो क्षमता देखाएर जित्छन् र जित्नुपर्छ। उनको जीत समग्र युवाको जीत बन्नुपर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्