अर्थतन्त्रलाई उकास्न निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताएका छन्। राजश्व संकलन लगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा रहेको भन्दै उनले अर्थतन्त्र उकास्ने जिम्मेवारी निजी क्षेत्रको पनि भएको बताए।

तिलोत्तमा चेम्बर अफ कमर्सको नवौं साधारणसभामा अध्यक्ष मल्लले भने, ‘उत्पादन वृद्धि गरेर निर्यात प्रवर्द्धन, औद्योगिक लगानी मार्फत रोजगारी सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न जरुरी छ।’ पछिल्लो समय राजश्व संकलन लक्ष्य अनुसार हुन नसकेको उनले बताए। लक्ष्यअनुसार राजश्व संकलन नहुँदा चालु खर्च धान्न पनि सरकारलाई मुस्किल परिरहेको मल्लको भनाइ छ।

भन्सार राजश्व प्रभावकारी नहुँदा पनि राजश्व लक्ष्य अनुसार उठ्न नसकेको उनले बताए। भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ। नेपाल भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेको भन्दै अध्यक्ष मल्लले सीमा व्यवस्थापन हुने बित्तिकै कम्तिमा ४० प्रतिशत राजश्व वृद्धि हुने बताए।

आयातलाई व्यवस्थित गरेर निर्यात प्रवर्द्धन गर्नका लागि सरकारसँग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेकोसमेत उनले बताए। सरकारले करको दायरा फराकिलो पारेर राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा उनले जोड दिए।

कर राजश्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको उनले बताए। अनुशासित व्यवसाय, पारदर्शी कर प्रणाली सम्बन्धमा निजी क्षेत्र सदैव प्रतिवद्ध रहेको उनको भनाई छ। आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसँग हातेमालो गर्न आफूहरू तयार रहेको उनले बताए। खुद्रा पसल देखि होलसेलसम्मै बिल बिजकको व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयन ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्