गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन

Renu_Dahal
लोकपाटी न्यूज
3 Shares

चितवन। भरतपुर महानगरपालिको आयोजनामा शुक्रबार आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गरिन्। भरतपुरमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना र निर्माण हुने सिग्नेचर ब्रिज, अलपत्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र ल्याण्डफिल साइटको कामलाई पूर्णता दिने उल्लेख गरिन्।

एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गणेश नेपालीले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवं सुझाव राखेका थिए। सहभागीहरूले ६ लेन सडकमा भत्काइएको संरचना, फोहर व्यवस्थापन, घरबाहल कर, ड्रेनको निर्माण, समानुपातिक विकास, भरतपुरका सडकको चौडाइ, विमानस्थल विस्तार लगायतका विषयमा जिज्ञासा राखेका थिए।

भरतपुर महानगर प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरिन्। महानगरपालिकालाई स्माट सिटी निर्माण गर्ने योजना अनुरूप अन्य कार्यहरू निर्वाध रुपमा अघि बढे पनि फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइट निर्माण गर्ने कार्यले गति नलिएको बताइन्। उनले जलदेवी सामुदायिक वनको १६ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको ल्याण्ड फिल्ड साइटमा दातृ निकायले कुनै निष्कर्ष नदिँदा विलम्ब भएको जानकारी दिइन्। अब केही समय यो निकायलाई पर्ख र हेरको अवस्था महानगरपालिका रहेको भन्दै उनले संघीय सरकारको सहयोगमा भए पनि काम अगाडि बढाउने मनस्थिति निर्माण गरेको बताइन्।

मेयर दाहालले कुनै पनि कुरामा गुनासो नआउने गरी काम अगाडि बढाउन सम्बन्धित महाशाखा, शाखाका कर्मचारीहरूलाई निर्देशन समेत दिइन्। उनले महानगरपालिकाको कामलाई छिटो छरिँदो बनाउन नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको पनि प्रष्ट पारिन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले राष्ट्रिय परिचय-पत्र र ई पासपोर्टको सेवा लिन आउने नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय कटिबद्ध रहेको उल्लेख गरे। उनले जिल्ला प्रशासन कार्यालयमा हुने कामबारे कुनै गुनासो भए प्रमुख जिल्ला अधिकारीको सार्वजनिक मोबाइल नम्बरमा फोन गर्न आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्