विराटनगर। पूर्वी क्षेत्रमा रही अध्यात्म एवं तपस्या तथा ज्ञानको साधनामा सक्रिय घनश्याम पोखरेलको स्मृति–ग्रन्थ लोकार्पण भएको छ। पोखरेलको आदर्श जीवन–चरित्र तथा प्रेरणादायी व्यक्तित्वलाई प्रकट गर्ने उद्देश्यले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति–ग्रन्थ’ प्रकाशित भएको हो।
उक्त स्मृति–ग्रन्थको शनिबार प्रदेश नं. १ का प्रमुख परशुराम खापुङले लोकार्पण गरेका हुन्। श्री घनश्याम पोखरेल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख खापुङले ग्रन्थ लोकर्पण गर्दै यस्ता ग्रन्थले व्यक्तिको इतिहास जीवित हुने बताए। प्रतिष्ठानले देश विदेशका विशिष्ट विद्वान्हरूका लेखहरू समेटेर उक्त स्मृति–ग्रन्थ प्रकाशित गरेको हो।
सो अवसरमा प्रतिष्ठानले सुनसरीको चतराधाममा रहेर वैदिक सनातन धर्मको संरक्षण र सम्वर्धनमा संलग्न ज्ञानवृद्ध, वीतराग सन्त, आबाल–ब्रह्मचारी श्री १००८ हरिकृष्णाचार्य स्वामीजीलाई नगद रू. २१ हजार राशिका साथ विशेष अभिनन्दन पनि गरेको छ। सोही अवसरमा लक्ष्मीनारायण वेदविद्याश्रम, पाञ्चाली विराटनगरका कक्षा ८ का छात्र उज्ज्वल अर्याललाई ५५ सय राशिको ‘पं. श्री घनश्याम पोखरेल मेधावी छात्र पुरस्कार’द्वारा पुरस्कृत गरिएको छ। प्रतिष्ठानले यी दुई क्षेत्रमा बर्सेनि पुरस्कार दिने नीति लिइएको कार्यक्रममा बताइएको थियो।
प्रतिष्ठानका अध्यक्ष प्रा.डा. भोलानाथ पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट विद्वान्, सन्त, महन्त, आचार्य गुरुहरू, विश्वविद्यालयका प्राध्यापक, शिक्षकहरूलगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन उपप्राध्यापकद्वय सुदर्शन नेपाल एवं गोविन्द घिमिरे (आकाश नीलम्) ले गरेका थिए।