पानी सम्झेर शिक्षिकाले दिएको स्प्रिट पिउँदा एक विद्यार्थीको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
5 Shares

सिरहा। शिक्षिकाको लापरबाहीका कारण सिरहाको एक विद्यालयमा छात्राको मृत्यु भएको छ। पानीको सट्टा स्प्रिट खाएपछि कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।

पुस २२ गते विद्यालयमा औषधि खानका लागि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन्। शिक्षिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्प्रिट पानी ठानेर दिइन्।

छात्रा सिर्जनाले उक्त बोतलमा रहेको स्प्रिट पानी सम्झेर खाएलगत्तै बेहोस् भएकी थिइन्। उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल र्पुयाइयो।

उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको थियो। सो घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आज आइतबार विद्यार्थीहरु र मृतक छात्राका आफन्तहरुले आन्दोलन सुरु गरिरहेका छन्।

शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन्। उनीहरुले बिहानै १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्