इलामको फाल्गुनन्द विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

Nepalairlines
लोकपाटी न्यूज
3 Shares

मंगलबारे। निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने भएको छ। नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो।

एयरलाइन्सले साप्ताहिक उडान गर्ने सम्म्बन्धमा सैद्धान्तिक सहमति भइसकेकोे इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिए। इलाम–काठमाडौंका लागि आगामी माघ १ गतेदेखि सातामा एउटा उडान गर्ने सहमति भएको उनले बताए। इलाम पर्यटकीय नगरी भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने उनको भनाइ छ। यसअघि पनि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा विमानस्थलबाट तारा एयरले उडान भरेको थियो। सम्झौता मिति सकिएसँगै उडान बन्द भएको थियो।

यस विमानस्थलबाट प्रायः सबै उडानमा यात्रु आउने गरेका थिए। ताराले उडान बन्द गरेसँगै इलामबाट उडान भएको छैन। भरसक सस्तो मूल्यमा नै उडान गराउन पहल गरिने इलाम नगरपालिकाले जानकारी दिएको छ। यसका लागि उचित मूल्य निर्धारण गर्न नेपाल वायुसेवा निगमसमेत लाग्नेमा आफूहरू विश्वस्त रहेको नगर प्रमुख थापाको भनाइ छ।

काठमाडौँबाट करिब एक घण्टाको उडान अवधिमा इलाम उडान गर्न सकिने यसअघि नै तारा एयरले बताएको थियो। सो विमानस्थलको छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ। धावन मार्गसमेत पक्की भइसकेको छ। विमानस्थलको घेराबारा र टर्मिनल भवन निर्माणका लागि रकम विनियोजन भइसकेको जनाइएको छ।सो विमानस्थल सञ्चालन हुनसके इलाम मात्र नभएर पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने छन्। साथै नजिक रहेको भारतका विभिन्न क्षेत्रबाट समेत काठमाडौँ उडानका लागि यात्रु आउन सक्ने छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्