अर्थतन्त्रको सवलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेका छौं : प्रधानमन्त्री प्रचण्ड

Prachanda
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्युनतम साझा कार्यक्रममा दिगो आर्थिक विकास र अर्थतन्त्रको सवलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताएका छन्। आज (सोमबार) काठमाडौंमा आयोजित ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीचको एकीकृत कारोबार सुरु भएको अवसरमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताए। अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको बताए। प्रधानमन्त्री प्रचण्डले वित्तीय, मौद्रिक, पूँजीबजर, सहकारी, बिमा र निजी कम्पनीका निकायहरुबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले ठूला परियोजनामा मात्र नभइ नविनतम बैंकिङ तथा वित्तीय उत्पादन प्रयोग गरी आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिङ क्षेत्रले योगदान गर्न जरुरी रहेको बताए। उनले वित्तीय सेवाहरुको बिस्तारमा डिजिटल बैंकिङको अवधारणा भित्रिएको भन्दै यसको सही सदुपयोग गर्दै बहुभाषिक र बहुसांस्कृतिक हाम्रो देशमा प्रत्येक समुदायमा समान रुपले बैंकिङ सेवा विस्तार गर्नुपर्ने आवश्यक्ता रहेको बताए।

उनले रेमिट्यान्स, कर्जा, यसले निम्त्याउने आयात र जग्गाको कारोबारको वृद्धिले गर्दा कतै न कतै संरचनागत रुपमा अर्थतन्त्र अफ्ठ्यारोमा रहेको भन्दै जनसंख्याको लाभ लिएर आर्थिक वृद्धिलाई गति दिनुपर्ने बेला रहेको स्पष्ट पारे। प्रधानमन्त्री प्रचण्डले युवालाई उत्पादनका क्षेत्रमा लाभदायी रोजगारी तथा उद्यमका अवसरमा लगाउनु पनि सरकारको लागि चुनौती रहेकाले जटिल र चुनौतिपूर्ण अवस्थाबाट सफल अवतरण गर्न सकारले तत्काल केही सुधार र केही संरचनागत सुधार गर्नुपर्ने बताए। अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्