प्रतिनिधिसभाले पूरा काम गर्न पाउनुपर्छ : देउवा

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको पहिलो बैठकमा उनले संसदको ठूलो दल काँग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताए हुन्।

देउवाले भनेका छन्, ‘प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक व्यवस्थाको सबलीकरणका लागि विशेष योगदान गर्न सकोस्। हामी सबै त्यसमा संलग्न हुन सकौं।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट मुलुकमा दिगो विकास, सुशासन, विकास र समृद्धि प्राप्त गर्नुपर्ने बताए। मुलुकको व्यवस्थालाई सुदृढ गर्दै जानुपर्ने उनको धारणा थियो। उनले नवगठित प्रतिनिधिसभाबाट जनताले अपेक्षा गरेको बताए।

‘प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा गरेका छन्। हाम्रो आगामी यात्रा स्पष्ट हुन जरुरी छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो,’ उनले भने, ‘संविधानको कार्यान्वयन गर्न धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी छन्। संविधानको रक्षा र त्यसका लागि नीति, कानुन बनाउनु छ। लोकतन्त्रको उन्नयनका निमित्त संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व हुन्छ।’

देउवाले प्रतिनिधिसभाको पूरा कार्यकालका लागि सांसदहरूको ध्यानाकर्षण गराए। १८ महिना अघि संसद् विघटन भएर विशेष परिस्थितिमा आफू प्रधानमन्त्री बनेपछि अघिल्लो प्रतिनिधिसभाले पूरा कार्यकाल काम गर्न पाएको भन्दै यस पटक पनि प्रतिनिधिसभाको पूरा कार्यकालका लागि शुभकामना दिए।

‘आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त हो। मेरो नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन समयमै सम्पन्न गरेको छ,’ देउवाले भने, ‘यो काममा सहयोग गर्ने देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु।’ उनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन्।