गरे के हुँदैन भन्ने उत्साह जगाउँछौं : प्रधानमन्त्री प्रचण्ड

Prachanda_sansad
लोकपाटी न्यूज
11 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेको बताएका छन्। ‘यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो। परम्परागत अभ्यास र राजनीतिले मात्रै जनतामा जान सक्ने अवस्थामा छैनौं। हामीले बिर्सनु हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं,’ उनले भने, ‘मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्ने छौ। हामी साझा राजनीतिक लक्ष्यका साथ एक ठाउँमा उभिने छौं।’

प्रतिनिधिसभाको पहिलो बैठकलाई आज लिखित सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताका अपेक्षा, गुनासा चासो र चिन्तालाई नजिकबाट देखेकाले समस्या केलाएर बस्ने छुट नभएको बताए। उनले भने, ‘हामीलाई समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्नेछ। समाधानतर्फ अगाडि बढ्नुपर्नेछ।’

प्रतिनिधिसभामा लैङ्गिक, जातीय, धार्मिक, क्षेत्रीय प्रतिनिधित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसले राष्ट्रको सच्चा प्रतिनिधित्व गरेको बताए। उनले फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएको भए पनि जनतासँग गरेको सुशासन र समृद्धिको प्रतिबद्धता भने साझा रहेको उल्लेख गरे।

यस पटक प्रतिनिधिसभामा नयाँ दलको प्रवेश भएको स्पष्ट पार्दै उनले भने, ‘संसद्मा नयाँ अनुहार थपिनुभएको छ। बिना कुनै इर्ष्या म मनैदेखि भन्न चाहन्छु, तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभुताको जीत हो। तपाईंहरुमा पक्कै एउटा आवेग र केही गरी छाड्ने हुटहुटी छ। त्यो हुटहुटी नयाँ संसद्को पुँजी हो।’

उनले संसद्को शपथ ग्रहणका क्रममा देखिएको विविधताले नै गर्वको महसुस गराएको स्मरण गरे। उनले नयाँ दल र अनुहारको आवेग रचनात्मक हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरुलाई स्वागत छ।’ उनले यो संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुने विश्वास व्यक्त गरे। उनले भने, ‘केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भन्ने उत्साह जगाउनुछ।’

प्रधानमन्त्री प्रचण्डले राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नु तथा विभेद बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिए। ‘आर्थिक क्रान्तिको साझा सङ्कल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नुछ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा सार्थक संवादको थलो बन्ने आशा व्यक्त गरे। उनले भने, ‘हाम्रा अभ्यासमा जनताले गौरव गर्ने वातावरण बन्नेछ। त्यो संकल्प हामी सबैले लिनुपरेको छ।’ उनले राष्ट्रका आवश्यकताका बारेमा विवेकपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरे। प्रधानमन्त्री प्रचण्डले जोड दिएर भने, ‘सहमति मात्रै होइन, हाम्रा मतभेदमा पनि मर्यादापूर्ण हुनेछन्। कम्तीमा पनि मेरो प्रयास र अपेक्षा यसैमा केन्द्रित हुनेछ।’ उनले नयाँ संसद् नयाँ भाष्य स्थापना गर्न सफल हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्