न्यूनतम कार्यक्रमको कार्यान्वयनको योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

PM_PRACHANDA
लोकपाटी न्यूज
11 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनको कार्ययोजना एक महिनाभित्र बनाउन सचिवहरूलाई निर्देशन दिएका छन्। ‘सबै सचिवले आ-आफ्नो मन्त्रालयभित्र यो कार्यक्रमलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, एक महिनाभित्र कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ,’ सचिवलाई निर्देशन दिँदै उनले भने।

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्न आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उनले सरकारले विश्वासको मत पाएपछि न्यूनतम साझा कार्यक्रम दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘यो पटक हामीलाई राष्ट्र र जनताको पक्षमा, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा दृढताका साथ अगाडि जानुको पक्षमा कुनै विकल्प छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सत्ता साझेदार दलहरूको एकताको आधार भएको उल्लेख गर्दै उनले सामाजिक, आर्थिक, राष्ट्रिय, शिक्षा, स्वास्थ्य, रोजगारी, परराष्ट्र नीतिसम्बन्धी सबै विषय कार्यक्रममा समेटिएको बताए।

सरकारको योजना के कसरी अगाडि बढ्छ भन्ने कुरा कार्यक्रममा स्पष्ट आएको जनाउँदै उनले सबैले दुविधारहित ढंगले यसलाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजानुपर्ने बताए। ‘जे हिसाबले हामीले नीतिगत प्राथमिकता तोकेका छौं, कार्यक्रम बनाएको छौं हामीले त्यसमा प्रतिबद्धता जाहेर गरेका छौं, त्यसलाई लागू गरेरै छाड्छौं,’ उनले प्रश्न गरे, ‘कसैको डर, त्रास र प्रलोभनमा नपरी राष्ट्र र जनताका निम्ति सिंगो सामाजिक रूपान्तरणका निम्ति अपरिहार्य भएको छ। अब पनि नगरे कहिले गर्ने ?’

सरकारले ल्याएको साझा कार्यक्रम कुनै पनि अवस्थामा बेवारिसे नहुने दाबी गर्दै उनले भने, ‘हामी त्यसो हुन दिने छैनौं, कर्मचारीले पनि त्यसलाई पहिले जस्तै भन्ने त होला नि नेताहरूले भन्ने नठान्नुहोला।’ साझा कार्यक्रम सरकारलाई दिशानिर्देश गर्ने महत्त्वपूर्ण दस्तावेजका रुपमा रहेको उनको भनाइ छ। ‘हामीले यो पटक राम्रो काम गर्ने, नराम्रो गर्नै नदिने, बेथितिहरूलाई नियन्त्रण गरेर लैजाने प्रतिबद्धताअनुसार सरकार अगाडि बढेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

‘अर्थतन्त्र सम्हालिन सक्ने ठाउँमै छ’

प्रधानमन्त्री प्रचण्डले मुलुक आर्थिक र राजनीतिक रुपमा अप्ठ्यारो अवस्थामा छ भनिने गरे पनि वास्तवमा त्यस्तो अवस्था नरहेको दाबी गरे। ‘देश संकटमा छ भन्ने कुरा होइन, देश केही अप्ठ्यारोमा भए पनि हामी यसलाई सम्हाल्न सक्ने ठाउँमा छौं,’ उनले भने, ‘अर्थतन्त्र सम्हालिन सकिने ठाउँमा छ। हामी सबैले दृढ इच्छाशक्तिका साथ एकताबद्ध भएर अगाडि बढ्दा साँच्चै नै देशको मुहार फेर्न सक्छौं।’

राजनीतिक स्थायित्व र आर्थिक समृद्धि सबैको इमान्दार प्रयत्नले मात्र सम्भव भएको उनको भनाइ छ। -रासस