बागमती प्रदेशमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता आज

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि आज बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। आज बिहान साढे १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

सभामुख चयनका लागि शुक्रबार निर्वाचन हुनेछ। नेपालको संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यमध्येबाट सभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ।  यस्तै, दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन फिर्ता गर्ने र ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको छ। सभामुखको निर्वाचन पुस २९ गते बिहान ११ बजे हुने सचिवालयले जनाएको छ।

सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने भए पनि गठबन्धन इतरको उम्मेदवार भने टुंगो लागिसकेको छैन।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ गरी ११० जना सांसद छन्। सभामुख निर्वाचित हुन ५१ प्रतिशत मत पाउनुपर्छ। प्रदेशसभा नियमावली २०७४ मा पहिले सभामुखको निर्वाचन गरिसकेपछि मात्रै उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्