प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको शिष्टाचार भेटवार्ता

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैँ अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कूटनीतिक सम्बन्ध रहने बताउँदै यसलाई आफूले ‘प्रो-नेपाल पोलिसी’को नाम दिएको बताए। उनले नयाँ सरकार शान्ति प्रक्रियाको पूर्णता, दिगो आर्थिक विकास र सामाजिक सुरक्षा लागू गर्न प्रभावकारी रूपमा लागिपर्ने बताए।

भेटमा जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए। उनले नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मन सरकारको सहयोग पूर्ण रहने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्