अध्यक्ष नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच आज भेटघाट भएको छ।

जापानी संसद्का सदस्य मासाकी जैरासँग आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष नेपालले भेटघाट गरेका हुन्। भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयलगायत जापान सरकारको सहयोगका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दल बीचका अन्तरसम्बन्धका बारेमा सो अवसरमा छलफल भएको थियो। भेटघाटका क्रममा आर्थिक लगानीका विषयमा जापानका प्राथमिकतासम्बन्धी सुझावको आदान प्रदान गरियो। जापानमा नेपाली श्रमिकको भूमिका, श्रमका क्षेत्रमा नेपालको योगदानका विषयमा जापानको तर्फबाट सकारात्मक धारणा व्यक्त भएको जनाइएको छ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले दुवै मुलुकको सम्बन्ध र हितकाबारेमा धारणा राख्दै नेपालको विकासका लागि जापानको भूमिकाको सराहना गरे। साथै आगामी दिनमा एकापसमा मिलेर अगाडि बढ्ने विषयमा उनले चर्चा गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्