‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि कार्ड खरिद गरिँदै

yatayat
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ। कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ।

सबै प्रक्रिया पूरा गरेर ल्याउन चार/पाँच महिना लाग्नसक्ने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए। उनका अनुसार नयाँ कार्ड खरिद भएर आउँदासम्मका लागि आवश्यकपर्ने सङ्ख्यामा भने विभागसँग कार्ड बाँकी रहेको छ।

अहिले अघि बढाइएको खरिद प्रक्रियाबाट १२ देखि १५ लाख कार्ड खरिद हुन लागेको विभागले जनाएको छ। अझै बढी खरिदका लागि थप रकमको पहल भइरहेको सूचना अधिकारी पनेरुले बताए। हालसम्म चालक अनुमतिपत्र छपाइका लागि एउटा मात्रै ‘मास प्रिन्टर’ रहेकामा अर्को एउटा खरिदका लागि विभागले प्रक्रिया अघि बढाइसकेको छ।

दुई ‘मास प्रिन्टर’ ले छाप्दा अहिलेभन्दा दोब्बर छापिने र अहिलेको कार्डले नपुग्नसक्ने उनले बताए। अहिले झण्डै सात लाख अनुमतिपत्र छाप्न बाँकी रहेकामा विभागले दुई उपकरणमार्फत त्यो छापिएर सक्ने गरी योजना बनाएको छ। विभागले कार्ड खरिदका लागि सूचना भर्खर प्रकाशित गरेको छ। वर्षभरलाई पुग्ने अनुमान गरिएको भए पनि नवीकरण, नयाँ, प्रतिलिपि सबैका लागि चाहिने हुँदा अझै बढी चाहिने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्