‘स्ववियु निर्वाचनको सान्दर्भिकता’

Agrata_Sharma
लोकपाटी न्यूज
10 Shares
  • अग्रता शर्मा

 सामान्यतया स्वतन्त्र विद्यार्थी युनियन भन्नाले विद्यार्थीका हकहित र अवसरसँगै सम्बन्धित शैक्षिक मुद्दा र रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने विद्यार्थीहरूको उनीहरूकै आधिकारिक संस्थालाई बुझिन्छ। यो संगठन राजनैतिकभन्दा पनि विद्यार्थीका आवश्यकतालाई केन्द्रमा राखेर सृजना गरिएको हो। तर विद्यार्थी नेतृत्वले समयको गतिशीलतालाई बुझ्न नसकेर उही पुरातन पद्धतिमै संगठन लैजान खोज्दा स्ववियुको भूमिका र आवश्यकतामा बारम्बार प्रश्न उठ्ने गरेको छ।

विद्यार्थी संगठनहरूको इतिहास दोस्रो विश्वयुद्धभन्दा पनि अघि देखिको छ। दोस्रो विश्वयुद्धमा विद्यार्थी संगठनहरू सैनिकहरूलाई खाना, पानी र विश्वविद्यालयहरूमा सुरक्षा दिन स्वयंसेवकको रूपमा प्रयोग हुन्थे। तर युद्ध सकिएसँगै ती संगठनहरूलाई विद्यार्थीमैत्री क्रियाकलापहरूमा रूपान्तरण गर्न थालियो। आज पनि विश्वका अधिकांश विश्वविद्यालयहरूमा स्ववियुको अभ्यास रहेको पाइन्छ। नेपालको विभिन्न युगान्तकारी परिवर्तनहरूमा पनि विद्यार्थी संगठनहरूको भूमिका उल्लेखनीय देखिन्छ। इतिहासलाई केलाउँदा नेपालमा विद्यार्थी संगठनको सुरुवात बिसं १९९१ मा नेपाली छात्र संघको नामबाट भारतको बनारसमा भएको थियो। १९९७ सालमा तत्कालीन राणा शासकबाट आफूविरुद्ध लागेको अभियोगमा त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइयो। यसर्थमा गंगालाल श्रेष्ठ नेपालको पहिलो विद्यार्थी शहिद र समग्र विद्यार्थी आन्दोलनको प्रेरणाको स्रोत पनि हुनुहुन्छ।

त्यसपछि चर्किँदै गएको विद्यार्थी आवेगले २००४ सालको आन्दोलनको स्वरूप लियो जसलाई ‘जयन्तु संस्कृतम’ नामले पनि चिनिन्छ। राणा शासकहरू जनताले केही सिकुन् जानुन् भन्ने चाहँदैनथे। त्यसैले देशभर सञ्चालित अधिकांश पाठशालाहरूमा केवल कर्मकाण्ड मात्र पढाइन्थ्यो र विद्यार्थी पनि केही जाति र सम्प्रदायका मात्र हुन्थे। उक्त आन्दोलन गरेबापत नेपाल संस्कृत छात्रवासबाट ४३ जना विद्यार्थी निष्कासित हुनुपरेको थियो। यसबाट पनि प्रष्ट हुन्छ नेपालमा राम्रो मागको लागि पनि विद्यार्थी पीडित हुनुपरेको इतिहास धेरै पुरानो नै हो।

त्यसपछिका हरेक परिवर्तनसँगै विद्यार्थी संगठन र आन्दोलन जोडिएर आउँछन्। २०१९ मा राजा महेन्द्रले दलहरूलाई प्रतिबन्ध लगाइसकेपछि आफ्नो विचार र दृष्टिकोण समाजमा लैजाने माध्यम नै विद्यार्थी संगठन थियो। २०३६ को जनमत संग्रह होस् या पहिलो र दोस्रो जन-आन्दोलन विद्यार्थी संगठनहरुको भूमिका प्रशंसायोग्य छ। तर बिसं २०६३/६४ को युगान्तकारी परिवर्तन पछि भने विद्यार्थी संगठनको क्रेज र औचित्य निरन्तर गिर्दो छ।

हाम्रा विद्यार्थी संगठनहरूले आफूलाई समयसँगै ढाल्न सकेका छैनन्। २०४६ साल र २०६३ सालमा आन्दोलन समयको माग थियो। शासकबाट आफ्ना अधिकार फिर्ता लिन नारा जुलुस गर्नै पर्ने थियो। अहिले समस्या समाधानको माध्यम त्यो बन्न सक्दैन र होइन पनि। अहिले हरेक विश्वविद्यालयमा १० भन्दा बढी संगठन छन् त्यसैभित्र पनि गुट उपगुट छन्। कहिले कसले बन्द गरेको छ, कहिले कसको टाउको फुटाएको छ। दिनप्रतिदिन विद्यार्थी आन्दोलन बदनाम बन्दैछ। खासमा त विद्यार्थी संगठनहरू ‘आवाज विहीनको आवाज’ बन्नुपर्थ्यो, सुविधाबाट वञ्चित समुदाय‌को सहारा बन्नु पर्थ्यो। तर यहाँ विद्यार्थी नेतृत्व सबै मुद्दा बारे बोल्छन् विद्यार्थीका मुद्दामा गुपचुप गर्छन् भन्ने आरोप छ। राजनीतिक संस्कार सिक्ने माध्यम बन्नुपर्ने ठाउँमा विद्यार्थी संगठन गुण्डागर्दीको केन्द्र बन्दैछन् जुन नितान्त निराशाजनक छ।

अहिलेको देशको नेतृत्व गरिरहेका बहुसङ्ख्यक नेता विद्यार्थी आन्दोलनबाट उदाएका हुन। विश्वविद्यालय व्यक्तित्व र नेतृत्व विकासको प्रयोगशाला पनि हो। राम्रोसँग कार्यसम्पादन गर्न सक्ने हो भने, स्वतन्त्र विद्यार्थी युनियन, केवल विद्यार्थीको मात्र होइन समग्र देशकै महत्त्वपूर्ण अंग बन्न सक्छ। स्ववियुको भूमिकामा यसरी प्रश्न उठ्नुको महत्त्वपूर्ण कारण राजनैतिक गतिशीलता नहुनु पनि हो। ५० वर्षअघि नेपाल विद्यार्थी संघको दोस्रो सभापति हुँदै राजनीतिमा हाम फालेका शेरबहादुर देउवा अझै पनि सक्रिय राजनीतिमै छन्। लिलामणी पोख्रेल, युवराज ज्ञवालीहरू अझै शिर्षथ स्थानमा पुग्ने समय कुर्दै छन्। शीर्ष नेतृत्व सदैव आफै मात्र पदमा बसिरहने लोभको सिधा असर समग्र क्षेत्रमा परेको देख्न सकिन्छ। त्यसैले कसैको राजनीति बचाइदिन, नेताको नातागोता आफन्तलाई भर्ती गर्न र बफादारहरूको झुण्ड बनाउन विद्यार्थी संगठन प्रयोग भएकाले अहिलेसम्म निर्वाचित भएता पनि स्वतन्त्र विद्यार्थी संगठनहरूले राम्रोसँग काम गर्न सकेका छैनन्। लगभग ८ वर्षको पर्खाइपछि २०७३ मा भएको स्ववियु चुनावमा यिनै लुछाचुँडी र भागबण्डाले गर्दा त्रिभुवन विश्वविद्यालयका ६० मध्ये २१ क्याम्पसका विद्यार्थीले मात्र आफ्नो प्रतिनिधि चुन्न पाए। देशका बाँकी ११ मध्ये अधिकांश विश्वविद्यालयले स्ववियु निर्वाचन गराउनै चाहँदैनन्। यसले एक त विद्यार्थीलाई हानि गर्छ, जायज माग उठाउने संगठन नै हुँदैनन्। अर्को भोलि देशको नेतृत्व गर्ने जनशक्ति उत्पादन हुँदैनन्।

यसैबीच त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयका केही कलेजहरूले स्ववियु निर्वाचनको मिति घोषणा गरिसकेका छन्। अबको केही समयपछि हुने निर्वाचन विद्यार्थी नेतृत्वको लागि परीक्षाको घडी पनि हो। समग्रमा हामीले कस्ता व्यक्ती उठाउने, कस्ता व्यक्तिलाई जिताउने त्यसले नै आगामी विद्यार्थी आन्दोलनको कार्यदिशा निर्धारण गर्नेछ। अब पनि उमेदवार उठाउँदा यति पटक ढुंगा हानेको, यति दिन जेल बसेको, यति नेताको चाप्लुसी गरेको यस्तो मानकका आधारमा बनाइयो भने स्ववियु चुनाव हुनु वा नहुनुमा कुनै फरक हुने छैन। विद्यार्थी नेतृत्वले हरेक आवाज विहीनहरूको आवाज बन्ने प्रत्याभूति दिनुपर्छ। विश्वविद्यालयमा हुने गरेका विकृति विसंगतीलाई कानुनी तवरले समाधान गर्न स्ववियुको भूमिका रहनुपर्छ। देशको राजनैतिक विषयमा आवाज उठाउनु राम्रो हो। तर विद्यार्थी नेतृत्व केवल त्यसैतर्फ मात्र केन्द्रित हुनु केन्द्रित हुनु राम्रो होइन।

देश बनाउन सबैभन्दा पहिला शिक्षा क्षेत्र सुधार आवश्यक छ। नपढेकाहरू कतार साउदी र पढेकाहरू अस्ट्रेलिया, अमेरिका लाग्ने जुन विकराल अवस्था देशमा आएको छ त्यसलाई बेलैमा मनन गर्नुपर्छ। हाम्रा विश्वविद्यालय केवल सैद्धान्तिक ज्ञानका पाठशाला बनेका छन्। तिनलाई चाँडोभन्दा चाँडो प्रयोगात्मक पद्धतिमा ढाल्नै पर्छ। देशको जिम्मेवार नागरिक र सबैभन्दा सक्रिय जनशक्ति विद्यार्थीहरूले विकृतिहरूको सफाइको सुरुवात आफ्नै कलेजहरूबाट गर्न सके, चुनिएका प्रतिनिधिले पनि कुनै नेताप्रति नभई विद्यार्थीप्रति उत्तरदायी भई काम गर्ने सके बल्ल विश्वविद्यालयहरूमा स्वतन्त्र विद्यार्थी युनियनको सान्दर्भिकता सिद्ध हुने थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्