‘प्रसाद २’ को प्रदर्शन मिति तय

Prasad_2
लोकपाटी न्यूज
5 Shares

म्याग्दी। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायांकन भइरहेको फिल्म ‘प्रसाद २’ को छायांकन सकिएको छ। एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायांकन सकाएपछि युनिट काठमाडौं फर्किँदै छ। कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायांकन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई प्रदर्शनसमेत तय गरेको छ।

फिल्म छिट्टै तयार हुने भएकाले प्रदर्शन मिति घोषणा गरिएको निर्माता सुभास थापाले जानकारी दिए। ‘प्रारम्भिक सम्पादन र ध्वनिको काम छायांकनमै भएको छ। हाम्रो फिल्म पूर्णरूपमा तयार हुने भएकाले प्रदर्शन घोषणा गरेका हौं,’ निर्माता थापाले भने। एसजी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदर्शन बस्नेतसमेत निर्माता हुन्।

सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय रहेको छ। ‘मेरो लागि यो फरक किसिमको फिल्म रह्यो। मैले कथालाई न्याय गरेको छु,’ निर्देशक थापाले भने। यो फिल्म ‘प्रसाद’ को दोस्रो भाग हो।

यसमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत, उत्तम न्यौपानेको ध्वनि मुद्रण, पत्रकार सुशील पौडेलको लेखन रहेको छ। फिल्मको प्रोडक्सन कोर्डिनेटरको काम मनोज केसीले गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्