पोखरा। माघे सङ्क्रान्तिको बिहान । पोखरेली साहित्यकारहरू, कलाकारहरू, विभिन्न संस्थाका नेतृत्वकर्ताहरू, लब्धप्रतिष्ठित व्यक्तित्वहरू जिरो किलोमिटरमा रहेको दुरान रेष्टुरेन्टमा भेला भएका देखिए । माघ महिनाको बिहानीको समय । वातावरण चिसो थियो । घामका सुनौला किरणले उपस्थितका अनुहारमा स्पर्श गरिरहेका थिए । बिस्तारै उपस्थिति बाक्लिँदै गयो । माहोल न्यानो बन्दै गयो ।
प्राज्ञ हरिदेवी कोइराला, बिम्ब कवि रमेश श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकाल लगायतका व्यक्तित्वहरू भेला भए । केही छिनमा देखिए आख्यानकार गनेस पौडेल, सरस्वती प्रतीक्षा, उपेन्द्र पौडेलहरू । दीपक समीप, लक्ष्मण थापा, वसन्त गौतम, चैतन्य अधिकारी, शरण आँसु, जीवनसागर भण्डारी, भीम रानाभाट आदि गफिन थाले । आयोजकहरू भने माघे सङ्क्रान्तिका परिकारहरू व्यवस्थित गर्नमै व्यस्त देखिन्थे । एकैछिनमा चिउरा, तरुल, सखरखण्ड, खुदो, घिउ, चाकु, तिलको लड्डु आदि खानेकुरा टेबलमा सजाइएका देखिए । एकाएक सबै लामबद्ध भए । हरेकले आफ्नो रुचिअनुसारका परिकार प्लेटमा राख्दै गए । कोही उठ्दै त कोही कुर्सीमा बसेर माघे सङ्क्रान्तिका अवसरमा खाइने खानेकुराको स्वाद लिए ।
सन्दर्भ थियो पुछारसिटे अभियान, पोखराले आयोजना गरेको एकल कविता वाचन । कार्यक्रमको नाम राखिएको थियो – ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा सरस्वती । पुछारसिटे अभियानले आयोजना गर्ने एकल कविता वाचनको छैटौँ शृङ्खलामा कविता वाचकका रूपमा उभिएकी थिइन् पोखरेली कवि सरस्वती श्रेष्ठ सरू ।
केही समयपछि पुछारसिटे अभियानका अभियन्ता अल्पज्ञानी मञ्चमा देखिए । उनले कार्यक्रमको दैलो उघारे । पुछारसिटे अभियानका बारेमा केही जानकारी गराए उनले उपस्थितहरूलाई । सो क्रममा उनले पुछारसिटे अभियानले असार १५ मा दही चिउरासँग कविता र माघ १ गते घिउ चाकु र तरुलसँग कविता नाममा वर्षमा दुई पटक एकल कविता वाचन कार्यक्रम सञ्चालन गर्दै आइरहेको कुरा सुनाए । साथै संस्थाले विभिन्न सामाजिक, शैक्षिक एवम् पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्दै आइरहेको पनि जानकारी दिए ।
अर्की अभियन्ता अम्बिका ओझाले उपस्थित सबैलाई आयोजकका तर्फबाट स्वागत गरेपछि मञ्चमा बोलाइए जीवनसागर भण्डारी । उनले कवि सरस्वतीका बारेमा परिचय प्रस्तुत गरेपछि उनैले कविलाई स्टेजमा आमन्त्रण गरे । पछाडिको सिटबाट उठेर कविता सुनाउँदै अगाडि आएकी कविलाई अभियानका संयोजक सञ्जीव पौडेलले सयपत्रीको माला लगाएर स्वागत र सम्मान गरे । अनि सुरु भयो कविता वाचन ।
जब म
कविता लेख्न बस्छु
मेरो छोराले
कलम खोस्छ
कापीमाथि आसन जमाउँछ
र
मौन भाषामा भनेझैँ लाग्छ
“आमा मै हुँ तिम्रो कविता …”
‘मेरो कविता’ शीर्षकको यो कविताबाट आफ्नो एकल वाचन सुरु गरेकी उनले बिचबिचमा आफ्नो कविता लेखन यात्रा, जीवनका उहापोह, तत्कालीन र वर्तमान समाजको अवस्थाबारे आफ्ना अनुभव र अनुभूति जोड्दै पनि गइन् । कविता र अनुभवको प्रस्तुति सुन्दर ढङ्गले बुनेकी उनले बिचमा आफ्ना कविता राख्न केही समयको फरकमा पोखराकै दुई कविलाई डाकिन् । दुवै कविहरू उनीभन्दा अनुज भएर पनि फरक पुस्ताको प्रतिनिधित्व गराउँदै उनले कवि लक्ष्मी थापा र रोशन तिमिल्सिनालाई आफ्ना एक एक थान कविता वाचन गर्न दिइन् । करिब डेढ दर्जन कविता प्रस्तुत गरेकी सरूले कविताको अन्तिम अन्तिम चरणमा सुप्रसिद्ध लोक गायिका एवम् प्राज्ञ हरिदेवी कोइरालालाई उपस्थित सबैको तर्फबाट शुभकामना मन्तव्य राखिदिन आग्रह पनि गरिन् । कविता प्रस्तुतिका बिचबिचमा कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वलार्य पालैपालो सम्झन पनि उनले छुटाइनन् । उनले ‘म’ शीर्षकको कविता यसरी सुनाइन् –
तिमी बिहानै बिहानै
नहल्लाउनू दूबोको पात ।
ए हावा !
सुस्तरी छुनू फूलका पत्रहरूमा
सुस्तरी चाल्नू पाइलाहरू
म ढल्पलाउन सक्छु
पोखिन सक्छु ।
नानीहरू नरुनू पुतली च्यात्तिएको दुःखमा
आमाहरू नरुनू सन्तान परदेशिएको वियोगमा
म झर्न सक्छु आँखाको डिलबाट ।
चराहरू सुस्तरी चिरबिराउनू
आवाजले झस्किएर म पोखिन सक्छु
नठोकिनू पत्थरले पनि
मनको घडामा
म छचल्किन सक्छु
ठोकिनै परे फूल भएर ठोकिनू ।
सुस्तरी उघार्नू ढोका
धक्का नदिनू मलाई
म आज तरल भएकी छु
शीत, आँसु या यस्तै केही भएकी छु ।
यस्तै यस्तै करिब डेढ दर्जन कविता सुनाइसकेपछि अन्तिम कविता राख्नुभन्दा अगाडि कार्यक्रममा सहयोग गर्ने सहयोगीहरू र कवि सरस्वती श्रेष्ठ सरूलाई समेत आयोजकका तर्फबाट सल्लाहकार लक्ष्मण थापा र प्राज्ञ हरिदेवी कोइरालाले संयुक्त रूपमा मायाको चिनो प्रदान गरिएको थियो । करिब डेढ घण्टा कविता सुनिसकेपछि पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरे ।