उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइयो

Bishnu_Poudel
लोकपाटी न्यूज
12 Shares

काठमाडौं। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बेलुकी ५ बजे बस्ने भएको छ। समिति सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलले बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपछि पौडेलले भने, ‘संयन्त्रका केही कार्यसूचीहरू बाँकी छन्। ती कार्यसूचीमा काम भइरहेको छ।’ प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सोमबार बिहानदेखि दिउँसो झण्डै पौने ३ बजेसम्म छलफल भएको थियो।

उनीहरुबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय छलफल भएको थियो। प्रधानमन्त्री प्रचण्डले आजै सरकारले पूर्णता पाउने प्रतिक्रिया दिएका छन्। त्यस्तै, अर्थमन्त्री पौडेलले यो सरकार सत्ता साझेदार दलकै सहमतिअनुसार अघि बढ्ने बताए। बैठकपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिने पार्टीहरूको बैठक भोलि बस्ने जानकारी दिएका थिए।

सरकार सञ्चालन सघाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ। सो संयन्त्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्‍देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य रहेका छन्।