सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचित

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य भीम भण्डारी निर्वाचित भएका छन्। मंगलबार सभामुख चयनका लागि प्रदेशसभामा तेस्रो पटक भएको मतदानमा भण्डारीलाई २९ प्रदेशसभा सदस्यले मत दिएका थिए।

बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्ने सुदूरपश्चिम प्रदेशमा भण्डारीले २९ मत पाएपछि ज्येष्ठ प्रदेशसभा सदस्य शिवराज भट्टले निर्वाचित भएको घोषणा गरेका हुन्। आज बसेको प्रदेशसभा बैठकमा ५२ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा भण्डारीको विपक्षमा २३ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।

भण्डारी नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना प्रदेशसभा सदस्यको समर्थनमा सभामुख बनेका हुन्। प्रदेश सभामुखका अर्का उम्मेदवार नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर रावलले भने २३ मत मात्रै पाएका थिए। उक्त मत प्रदेशसभामा तत्काल कायम रहेको प्रदेशसभा सदस्य संख्याको बहुमत नपुगेको भन्दै ज्येष्ठ प्रदेशसभा सदस्य भट्टले अस्वीकृत गरेका थिए।

रावललाई नेपाली काँग्रेसका १९ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ प्रदेशसभा सदस्यले समर्थन दिएका थिए। प्रदेशसभाको अर्को बैठक बुधबार (भोलि) दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्