न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिन्छौ : मेयर दाहाल

Renu_Dahal
लोकपाटी न्यूज
8 Shares

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले न्यानो कपडा वितरण कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने बताएकी छन्। भरतपुर महानगरमा रहेका अटिजम विद्यालयका विद्यार्थीहरूलाई मंगलबार न्यानो कपडा वितरण गर्दै उनले भरतपुरको शैक्षिक गुणस्तर वृद्धि गर्न यो कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिन्।

भरतपुरमा रहेका अटिजम विद्यालयमा अध्ययन गरिरहेका करिब ५ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो। फरक क्षमता भएका विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर न्यानो कपडा वितरण गरिएको मेयर दाहालले बताइन्। विद्यार्थीहरूलाई विद्यालयसम्म ल्याउनको लागि महानगरपालिकाले विद्यार्थीमैत्री धेरै कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जानकारी दिइन्।

निःशुल्क र आधारभूत शिक्षा उपलब्ध गराउन महानगरले विद्यालयको अवस्था हेरेर निःशुल्क बस वितरण, निःशुल्क खाजा, छात्रवृत्ति लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। योसँगै भरतपुर महानगरपालिकाले यस वर्ष दिने न्यानो कपडा वितरण गर्ने कार्य सम्पन्न गरेको छ। यस वर्ष १४ सय ३० जनालाई न्यानो कपडा वितरण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौड्यलले जानकारी दिए।

यसअघि महानगरपालिकाले भरतपुरका १२ वटा सामुदायिक विद्यालयका विपन्न १ हजार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिसकेको छ। विषेश गरी चिसो मौसमका कारण विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित नहुन परोस् भन्ने उद्देश्यले विगत ४ वर्षदेखि न्यानो कपडा वितरण गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्